तरुण खबर
३ पुष २०८२, बिहीबार ११:४०
चालु आर्थिक वर्ष २०८१–८२ को पहिलो पाँच महिनामा नेपालमा ३८ अर्ब ५९ करोड रुपैयाँभन्दा बढी लगानी प्रतिबद्धता आएको छ। उद्योग विभागको विदेशी लगानी तथा प्रविधि हस्तान्तरण शाखाका अनुसार मंसिर मसान्तसम्म ३८ अर्ब ५९ करोड ६६ लाख ४४ हजार रुपैयाँ बराबरको लगानी प्रतिबद्धता प्राप्त भएको हो।
समीक्षा अवधिमा २८६ वटा उद्योग तथा कम्पनीले नेपालमा लगानी गर्ने प्रतिबद्धता जनाएका छन्। ती लगानीबाट ३३ हजार ८१४ जनालाई रोजगारी सिर्जना हुने अपेक्षा गरिएको छ। शाखाले सार्वजनिक गरेको तथ्याङ्कअनुसार हालसम्म कुल ४३८ वटा उद्योग तथा व्यवसायले नेपालमा लगानी गर्ने प्रतिबद्धता गरेका छन्।
मंसिर महिनामा मात्रै ५६ वटा कम्पनीले करिब १ अर्ब ९१ करोड ४९ लाख ५८ हजार रुपैयाँ बराबरको लगानी प्रतिबद्धता गरेका छन्। यसबाट १ हजार ४७० जनालाई रोजगारी मिल्ने उल्लेख छ।
पाँच महिनाको अवधिमा लगानी प्रतिबद्धता जनाएका कम्पनीमध्ये साना कम्पनी ४२३ वटा, मध्यम ८ वटा र ठूला ७ वटा रहेका छन्। मंसिरमा मात्र ५४ वटा साना र २ वटा मध्यम उद्योगले लगानी प्रतिबद्धता गरेका हुन्।
क्षेत्रगत रूपमा हेर्दा, सबैभन्दा धेरै लगानी प्रतिबद्धता सूचना प्रविधि (आइटी) क्षेत्रमा आएको छ। पाँच महिनामा २३६ वटा आइटी कम्पनीले लगानी प्रतिबद्धता गरेका छन्, जुन कुल प्रतिबद्धताको ५४ प्रतिशत हो। तर लगानी रकमको हिसाबले आइटी क्षेत्रको हिस्सा भने करिब ३ प्रतिशत मात्र रहेको छ।
आइटीपछि पर्यटन क्षेत्रमा बढी लगानी प्रतिबद्धता आएको छ। यस क्षेत्रमा १३५ वटा उद्योगले लगानी गर्ने प्रतिबद्धता जनाएका छन्, जुन कुल संख्याको ३१ प्रतिशत हो। लगानी रकमको आधारमा पर्यटन क्षेत्रले २६ प्रतिशत हिस्सा ओगटेको छ।
त्यसैगरी, कृषि क्षेत्रमा १३ वटा उद्योगबाट आएको लगानी प्रतिबद्धता संख्या अनुसार ३ प्रतिशत भए पनि रकमका हिसाबले सबैभन्दा ठूलो हिस्सा रहेको छ। कृषि क्षेत्रमा कुल लगानी प्रतिबद्धताको ५७ प्रतिशत पुगेको छ।
अन्य क्षेत्रमा सेवा क्षेत्रका २८ वटा (६ प्रतिशत), उत्पादन क्षेत्रका २६ वटा (६ प्रतिशत), ऊर्जा क्षेत्रका १ वटा र खनिज क्षेत्रका १ वटा उद्योगले लगानी प्रतिबद्धता गरेका छन्।
लगानी रकमको विवरण अनुसार उत्पादनमूलक उद्योगमा १ अर्ब ९७ करोड २३ लाख ५८ हजार रुपैयाँ, ऊर्जामूलकमा १८ करोड ४२ लाख ५० हजार रुपैयाँ, कृषिमूलकमा २१ अर्ब ८८ करोड ८० लाख रुपैयाँ, पर्यटनमूलकमा १० अर्ब १२ करोड २० लाख ५० हजार रुपैयाँ र खनिजमूलकमा ४ करोड ५० लाख रुपैयाँ बराबरको लगानी प्रतिबद्धता आएको छ।
यसैगरी, सेवामूलक क्षेत्रमा ३ अर्ब ३९ करोड ६० लाख रुपैयाँ र सूचना प्रविधिमूलक क्षेत्रमा ९९ करोड ८९ लाख ८६ हजार रुपैयाँ बराबरको लगानी प्रतिबद्धता रहेको छ। तर पूर्वाधारमूलक उद्योगमा भने हालसम्म कुनै पनि लगानी प्रतिबद्धता आएको छैन।


