२०८३ सालको पात्रोमा परम्परागत विधि कायम

२०८३ सालको पात्रोमा परम्परागत विधि कायम तरुण खबर ३ पुष २०८२, बिहीबार ११:५९
२०८३ सालको पात्रोमा परम्परागत विधि कायम

सर्वसाधारणले दैनिक प्रयोग गर्ने पात्रोमा तिथिमितिको गणना अहिले ज्योतिषविद्‌हरूमाझ विवादको विषय बनेको छ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले आगामी २०८३ सालको पात्रो साविककै सूर्यसिद्धान्त विधिअनुसार बनाउने निर्णय गरेको छ।

ज्योतिषविद्‌हरूमध्ये एक समूह परम्परागत विधिलाई निरन्तरता दिनुपर्ने मान्छन् भने अर्का केही विद्वान्‌ले केतकी ग्रहगणितको आधारमा गणना गर्दा अधिक यथार्थपरक हुने तर्क गर्छन्। केतकी प्रणाली भारतका प्राचीन ज्योतिषाचार्य वेङ्कटेश केतकरको नामबाट विकसित भएको हो र यसमा आकाशका ग्रहहरूको वास्तविक गति तथा अवस्था हेरेर गणना गरिन्छ।

समितिले मङ्गलवार जारी गरेको विज्ञप्तिमा भनिएको छ, “२०८३ सालको पात्रो २०८२ कै अनुरूप बनाइनेछ। विविध कारणबाट पञ्चाङ्ग तयार गर्न ढिलाइ भएको र केतकी ग्रहगणितबाट गणना गर्न थप समय आवश्यक देखिएको कारणले साविककै शैली अपनाइएको हो।”

समितिका हालै नियुक्त कार्यकारी निर्देशक आचार्य लक्ष्मण पन्थीका अनुसार विगतमा सूर्य र चन्द्रमालाई सूर्यसिद्धान्तको आधारमा राखेर बाँकी सात ग्रहको गणना केतकी सिद्धान्तअनुसार गरिएको थियो। तर २०८३ सालका लागि सबै ग्रहका लागि केतकी आधारमा गणना गर्ने निर्णय भए पनि प्रक्रिया अझै परिपक्व हुन आवश्यक देखिएकोले यो वर्ष पुरानो विधि कायम गरिएको हो।

ज्योतिषी प्रीति आत्रेय ज्ञवालीले साविक विधि अपनाउनुपर्ने औँल्याउँदै भनिन्, “सानो परिवर्तनले पनि फरक पर्छ। सूर्यसिद्धान्तमा केही सुधार गर्दै जान सकिन्छ, तर तत्काल अर्को प्रणाली अपनाउँदा जटिलता आउन सक्छ।”

नेपालमा पात्रो निर्माण तथा धार्मिक–सांस्कृतिक पर्वहरूको निर्णय नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिद्वारा गरिन्छ। यस समितिले दशैँ, तिहारजस्ता चाडपर्वका शुभ मुहूर्त तय गर्ने कार्य गर्दै आएको छ।

समितिका भूतपूर्व अध्यक्ष प्राध्यापक श्रीकृष्ण अधिकारीका अनुसार, केतकी प्रणाली यथार्थपरक भए पनि व्यवहारमा धेरै फरक नपर्ने देखिन्छ। उनले भने, “सूर्यसिद्धान्तमा तिथि, योगजस्ता गणना राखिएको छ, तर वास्तविक ग्रहण, उदय–अस्तको गणना केतकी विधिले मिलाउँछ। भविष्यमा पूर्ण रूपमा केतकी प्रणालीमा जान सकिन्छ।”

नेपालमा पात्रो निर्माणको परम्परा विक्रम संवत् १९४६ देखि सुरु भएको मानिन्छ। पण्डित तोयानाथ पन्तले पहिलो पटक नेपाली पात्रो छापेका थिए र उनका वंशजहरू अहिले पनि पञ्चाङ्ग प्रकाशन गर्दै आएका छन्।