तरुण खबर
४ पुष २०८२, शुक्रबार ११:३५
नेपालमा लामो समयदेखि विदेशी लगानीको प्रतिबद्धता धेरै देखिए पनि वास्तविक लगानी भित्र्याउने दर भने सन्तोषजनक हुन सकेको छैन। प्रक्रियागत झन्झट, ढिलासुस्ती, भ्रष्टाचार तथा निजी क्षेत्रकै असहिष्णु व्यवहारजस्ता कारणले सुरुमा उत्साहित देखिएका विदेशी लगानीकर्ता पनि अन्ततः लगानी कार्यान्वयन गर्न हिच्किचाउने अवस्था रहँदै आएको छ।
यसैबीच, भदौ २३ र २४ गते भएको जेन–जी जनआन्दोलनपछि विदेशी लगानीको वातावरण थप संवेदनशील बनेको देखिएको छ। आन्दोलनका क्रममा देशभर २ हजार १६८ निकाय तथा संस्थामा करिब ८४ अर्ब ४५ करोड ७७ लाख रुपैयाँ बराबरको भौतिक क्षति भएको सरकारी समितिको मूल्याङ्कन छ। ५४ जिल्लाका २६२ स्थानीय तहमा क्षति पुगेको जनाइएको छ।
आन्दोलनका कारण सरकारी तथा सार्वजनिक क्षेत्रतर्फ ४४ अर्ब ९३ करोड ७३ लाख रुपैयाँ बराबरको क्षति भएको छ भने निजी क्षेत्रतर्फ ३३ अर्ब ५४ करोड ८७ लाख रुपैयाँ बराबरको क्षति भएको मूल्याङ्कन गरिएको छ। विदेशी चेन होटलका रूपमा रहेको हिलटन होटल पूर्ण रूपमा जलेर नष्ट भएको थियो भने भाटभटेनीजस्ता ठूला सुपरमार्केटसहित कयौँ व्यापारिक केन्द्रमा आगलागी र लुटपाटका घटना भएका थिए। आन्दोलनका क्रममा ७७ जनाले ज्यानसमेत गुमाएका थिए।
यी घटनाको प्रभाव पछिल्ला महिनामा विदेशी लगानी प्रतिबद्धतामा देखिन थालेको छ। उद्योग विभागको विदेशी लगानी तथा प्रविधि हस्तान्तरण शाखाका अनुसार चालु आर्थिक वर्षको पहिलो पाँच महिनामा कुल २८ अर्ब रुपैयाँ बराबरको विदेशी लगानी प्रतिबद्धता आएको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा बढी हो। गत वर्ष मंसिर मसान्तसम्म २० अर्ब ७७ करोड ७३ लाख ६३ हजार रुपैयाँ बराबरको मात्र प्रतिबद्धता आएको थियो।
तर मासिक तथ्याङ्क विश्लेषण गर्दा जेन–जी आन्दोलनपछिको अवधिमा लगानी प्रतिबद्धताको गति भने कमजोर देखिएको छ। आन्दोलन भएको भदौ महिनामा १०९ कम्पनीले ८ अर्ब ९८ करोड ७० लाख ५९ हजार रुपैयाँ बराबरको लगानी प्रतिबद्धता जनाएका थिए, जुन अघिल्लो वर्षको भदौभन्दा धेरै हो। अघिल्लो वर्ष भदौमा ३८ कम्पनीबाट ३ अर्ब ५६ करोड ७४ लाख रुपैयाँ बराबरको मात्र प्रतिबद्धता आएको थियो।
विशेषगरी आन्दोलन भदौको अन्त्यतिर भएकाले अधिकांश लगानी प्रतिबद्धता भदौ २४ गतेअघि नै आएकाले त्यसबेला विदेशी लगानीकर्ताको उत्साह कायम रहेको देखिन्छ। तर त्यसपछिको असर असोजदेखि स्पष्ट रूपमा देखिन थालेको छ।
चालु आर्थिक वर्षको असोजमा ७५ कम्पनीबाट २ अर्ब ४ करोड ५७ लाख ३२ हजार रुपैयाँ बराबरको मात्र लगानी प्रतिबद्धता आएको छ, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा १ अर्ब २५ करोड ९६ लाख २४ हजार रुपैयाँले कम हो। अघिल्लो वर्ष असोजमा ३४ कम्पनीबाट ३ अर्ब ३० करोड ५३ लाख ५६ हजार रुपैयाँ बराबरको प्रतिबद्धता आएको थियो। यस वर्ष असोजमा मध्यम वा ठूला लगानी नआएर सबै साना लगानीमै सीमित भएका छन्।
कार्तिक महिनामा पनि अपेक्षित सुधार देखिएको छैन। अघिल्लो वर्ष कार्तिकमा १ अर्ब ६१ करोड रुपैयाँ बराबरको लगानी प्रतिबद्धता आएकोमा यस वर्ष सो अवधिमा १ अर्ब ५४ करोड ३९ लाख रुपैयाँ बराबरको मात्र प्रतिबद्धता आएको छ, जुन ६ करोड ६१ लाख रुपैयाँले कम हो।
मंसिर महिनामा समेत यही प्रवृत्ति कायम रह्यो। अघिल्लो वर्ष मंसिरमा २ अर्ब ११ करोड २२ लाख ५० हजार रुपैयाँ बराबरको लगानी प्रतिबद्धता आएकोमा यस वर्ष मंसिर मसान्तसम्म १ अर्ब ९१ करोड ४९ लाख ५८ हजार रुपैयाँ बराबरको मात्र प्रतिबद्धता आएको छ, जसले १९ करोड ७२ लाख ९१ हजार रुपैयाँको कमी देखाउँछ।
अर्थशास्त्रीहरूका अनुसार विदेशी लगानी प्रत्यक्ष रूपमा रोजगारी सिर्जनासँग जोडिएको हुन्छ। विदेशी लगानीले प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा ठूलो संख्यामा रोजगारी सिर्जना गर्नुका साथै अर्थतन्त्रलाई चलायमान बनाउने भूमिका खेल्छ। त्यसैले लगानीको गति कमजोर हुँदा समग्र आर्थिक गतिविधिमा असर पर्ने देखिन्छ।


