जापानको ऐतिहासिक ब्याजदर वृद्धि

जापानको ऐतिहासिक ब्याजदर वृद्धि तरुण खबर ४ पुष २०८२, शुक्रबार ११:४६
जापानको ऐतिहासिक ब्याजदर वृद्धि

जापानको केन्द्रीय बैंक (बैंक अफ जापान–बीओजे) ले ३० वर्षयताकै उच्च नीतिगत ब्याजदर कायम गर्दै आर्थिक व्यवस्थामा ऐतिहासिक कदम चाल्न थालेको छ। बैंकले दुई दिने मौद्रिक नीति बैठकपछि छोटो अवधिको ब्याजदर ०.५ प्रतिशतबाट ०.७५ प्रतिशतमा पुर्‍याएको छ। यससँगै सन् १९९५ पछिको उच्चतम ब्याजदर जापानमा लागू भएको छ।

सन् १९९५ मा जापानले मूल्यह्रास र आर्थिक मन्दीसँग जुध्न उच्च ब्याजदर अपनाएको थियो। त्यसयता पहिलो पटक बैंक अफ जापानले यति उच्च नीतिगत ब्याजदर कायम गरेको हो। लामो समयदेखि जारी व्यापक मौद्रिक सहजता र शून्य नजिकको ब्याजदरको अन्त्यतर्फ यो कदम लिइएको विश्लेषकहरूले बताएका छन्।

केन्द्रीय बैंकले जारी गरेको विज्ञप्तिमा ब्याजदर वृद्धि गर्ने निर्णय सर्वसम्मत भएको उल्लेख छ। बैंकले आगामी दिनमा अर्थतन्त्रको अवस्था अपेक्षाअनुसार रहेमा ब्याजदर थप बढाउन सक्ने संकेत पनि दिएको छ। यद्यपि ०.७५ प्रतिशतको दर अन्तर्राष्ट्रिय स्तरमा अझै कम मानिएको छ, तर जापानका लागि यो ठूलो नीतिगत परिवर्तन हो।

जापानले दशकौँसम्म व्यवसाय र उपभोक्तालाई खर्च तथा लगानी बढाउन प्रोत्साहन गर्न सस्तो ऋण नीति अपनाउँदै आएको थियो। पछिल्लो त्रैमासिकमा जापानी अर्थतन्त्र वार्षिक २.३ प्रतिशतले संकुचित भए पनि व्यवसायिक विश्वासमा सुधार र वस्तु तथा सेवाको मूल्यमा निरन्तर दबाब बढेपछि बैंक ब्याजदर वृद्धि गर्न तयार भएको विश्लेषकहरूले बताएका छन्।

हालैका वर्षहरूमा कमजोर येनका कारण आयातित खाद्यान्न, इन्धन र कच्चा पदार्थको मूल्य बढेको छ, जसले उपभोक्ताको जीवनयापन खर्च र उद्योग व्यवसायको लागत बढाएको छ। मुद्रास्फीति लामो समयदेखि लक्ष्यभन्दा माथि रहँदै आएको र तलब वृद्धिको गति अपेक्षाअनुसार नबढेकाले घरेलु बजेटमा दबाब बढेको छ। यही अवस्थालाई ध्यानमा राख्दै बैंक अफ जापानले ब्याजदर वृद्धि गरेको जनाएको छ।