तरुण खबर
४ पुष २०८२, शुक्रबार ११:५९
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री श्रद्धा श्रेष्ठले मानव तस्करी रोकथाम सरकारको प्राथमिकतामा रहेको र यसलाई गम्भीर अपराधको रूपमा लिइएको बताइन्।
बिहीबार साँझ विराटनगरमा मन्त्रालय र मैती नेपालद्वारा आयोजित दुई दिने ‘नेपाल–भारत सीमा क्षेत्रमा मानव तस्करी र शोषणका चुनौतीहरू’ विषयक सेमिनारको उद्घाटन गर्दै उनले सम्बन्धित निकायहरूले दुवै देशबीच सहकार्य बढाउन आवश्यक रहेको र दुष्कृत्य रोक्न सामूहिक प्रयास गर्नुपर्नेमा जोड दिइन्।
मन्त्री श्रेष्ठले तस्करीमा परेका पीडितको तत्काल उद्धार र सुरक्षा सुनिश्चित गर्न रणनीतिक पहल लागू गर्ने मन्त्रालयको प्रतिबद्धता दोहोर्याइन्। साथै महिला तस्करी रोक्न आवश्यक उपाय छिट्टै तयार गरिने र कार्यान्वयनमा ल्याइने जानकारी दिइन्।
मैती नेपालका अध्यक्ष अनुराधा कोइरालाले संगठन विगत ३० वर्षदेखि मानव तस्करी विरुद्ध सक्रिय रहेको, जनचेतना बढाएको र उद्धार तथा पुनःस्थापनामा सहयोग पुर्याउँदै आएको बताए। उनले अशिक्षा, बेरोजगारी र विभिन्न प्रलोभनका कारण किशोरीहरूको तस्करी भइरहेकाले समाज, संस्थाहरू र सरकारी निकायबीच समन्वय आवश्यक रहेको बताए।
विराटनगर महानगरका मेयर नागेश कोइरालाले पनि मानव तस्करी नेपालमा ठूलो चुनौती भएको स्वीकार्दै यसको रोकथाम सहकार्यद्वारा सम्भव हुने बताए।
उक्त सेमिनारले नेपाल–भारत सीमा क्षेत्रमा मानव तस्करी नियन्त्रणका लागि समन्वय र रणनीतिक कदमहरू सुदृढ गर्ने दिशामा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।


