तरुण संवाददाता
४ पुष २०८२, शुक्रबार १६:०५
काठमाडौँ । बुवाको निधनपछि काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र साह बालेन शुक्रबार पहिलोपल्ट कार्यपालिका बैठकमा उपस्थित भएका छन् । ४४औं कार्यपालिका बैठकले पुस ११ गते नगर सभाको १८औं अधिवेशन आह्वान गर्ने निर्णय गरेको छ ।
शुक्रबारको कार्यपालिका बैठकमा मेयर बालेन र उपमेयर सुनिता डंगोल आमने सामने भएका छन् । एमालेको केन्द्रीय सदस्य निर्वाचित भएपछि सुनिता र बालेनको कार्यपालिका बैठकमा भेट भएको हो । बालेन स्वतन्त्र छन् । सुनिता भने अब एमालेको केन्द्रीय सदस्य भएकी छन् । बालेनले अहिलेसम्म कुनै दल खोल्ने वा कुनै दललाई समर्थनको औपचारिक घोषणा गरेका छैनन् ।
महानगरको बैठकमा प्रशासन, पूर्वाधार निर्माण, वातावरण, सूचना प्रविधि, अन्तर्राष्ट्रिय सम्बन्ध, कानुन तथा मानव अधिकार, महानगर प्रहरी बल, राजस्व, स्वास्थ्य, शिक्षा, सामाजिक विकास, सम्पदा तथा पर्यटन र सहकारी क्षेत्रका ३० वटा प्रस्ताव र विविधमा दुईवटा विषयमाथि छलफल र निर्णय भएको छ ।
बैठकबाट निःशुल्क शिक्षा कार्यान्वयनका लागि विद्यालयहरुलाई निकासा दिने, विद्यालय र हातको सौन्दर्य अभिवृद्धि गर्न विद्यालयहरुलाई अनुदान प्रदान गर्ने, नेपाल भाषाको पाठयक्रम स्वीकृत तथा पाठयपुस्तक संशोधन, १५ प्रतिशतदेखि २५ प्रतिशतसम्म भेरिएसन भएका विभिन्न पूर्वाधार योजनाहरुको अनुमोदन गर्ने लगायत निर्णय भएका छन् ।
यसैगरी, दृष्टिविहीन क्रिकेट उपविजेता नेपाली टोलीका खेलाडीलाई जनही एक लाख रुपैयाँ र टोलीका अन्य सदस्यलाई ५० हजार रुपैयाँका दरले नगदसहित सम्मान गर्ने निर्णय भएको छ ।


