एलआइसी नेपालले सार्वजनिक गर्‍यो नयाँ बोनस दर

एलआइसी नेपालले सार्वजनिक गर्‍यो नयाँ बोनस दर तरुण खबर ६ पुष २०८२, आईतवार ११:२९
एलआइसी नेपालले सार्वजनिक गर्‍यो नयाँ बोनस दर

लाइफ इन्स्योरेन्स कर्पोरेशन (एलआइसी) नेपाल लिमिटेडले विभिन्न जीवन बीमा योजनामा लागू हुने नयाँ बोनस दर सार्वजनिक गरेको छ। नेपाल बीमा प्राधिकरणले मंसिर २८ गते स्वीकृति दिएपछि कम्पनीले बोनस दर सार्वजनिक गरेको हो।

कम्पनीका अनुसार सावधिक जीवन बीमालेख योजनाअन्तर्गत बीमितले बीमा अवधिअनुसार प्रतिहजार न्यूनतम ५० रुपैयाँदेखि अधिकतम ८५ रुपैयाँसम्म बोनस पाउनेछन्। जीवन आस्ता योजनामा ५ वर्षे अवधिका लागि प्रतिहजार ८५ रुपैयाँ र ३ वर्षे अवधिका लागि ८० रुपैयाँ बोनस दर तोकिएको छ।

बाल उन्नति योजनामा १५ देखि २५ वर्ष अवधिसम्म प्रतिहजार ६० रुपैयाँ र ८ देखि १४ वर्ष अवधिमा ५५ रुपैयाँ बोनस दर निर्धारण गरिएको छ। जीवन विद्या, जीवन साथी र जीवन श्री योजनामा प्रतिहजार ५० रुपैयाँदेखि ५२ रुपैयाँसम्म बोनस रहेको छ भने जीवन सर्वाधिक योजनामा ५० रुपैयाँदेखि ६५ रुपैयाँसम्म बोनस दर रहेको कम्पनीले जनाएको छ।

जीवन आनन्द योजनामा १० देखि २५ वर्ष अवधिसम्म प्रतिहजार ५१ रुपैयाँदेखि ५६ रुपैयाँसम्म बोनस पाइनेछ। बाल सर्वाधिक योजनामा १५ वर्षदेखि ३० वर्षभन्दा माथिको अवधिसम्म प्रतिहजार ५० रुपैयाँदेखि ६४ रुपैयाँसम्म बोनस दर लागू गरिएको छ।

धन वृष्टि योजनामा १५ वर्ष अवधिका लागि प्रतिहजार ५६ रुपैयाँ र १० वर्ष अवधिका लागि ५३ रुपैयाँ बोनस दर तोकिएको छ। धन फिर्ता योजनामा प्रतिहजार ५५ रुपैयाँदेखि ६० रुपैयाँसम्म बोनस छ। त्यस्तै, बाल ममता, बाल स्नेह र जीवन तरङ्ग योजनाअन्तर्गत प्रतिहजार ५० रुपैयाँदेखि ५७ रुपैयाँसम्म बोनस दर कायम गरिएको छ।

लघु सावधिक बीमा योजनामा सबै अवधिका लागि समान रूपमा प्रतिहजार ४१ रुपैयाँ बोनस दर रहेको छ। जीवन बचत योजनामा ५ वर्षदेखि २५ वर्षसम्मको अवधिमा प्रतिहजार ४१ रुपैयाँदेखि ६० रुपैयाँसम्म बोनस पाइनेछ। जीवन लाभ योजनामा १० देखि २५ वर्ष अवधिसम्म प्रतिहजार ५१ रुपैयाँदेखि ५७ रुपैयाँसम्म बोनस निर्धारण गरिएको छ।

त्यसैगरी, बाल समृद्धि र जीवन उत्सव योजनामा १० देखि ३५ वर्ष अवधिसम्म प्रतिहजार ५० रुपैयाँदेखि ५६ रुपैयाँसम्म बोनस दर लागू हुने कम्पनीले जानकारी दिएको छ।

कम्पनीले हरेक वर्ष बीमांकी मूल्यांकन (एक्चुरियल भ्यालुएशन) पश्चात् बोनस दर घोषणा गर्ने गर्दछ। नयाँ बोनस दर घोषणा नभएसम्म बीमितले पछिल्लो पटक घोषित बोनस दरकै आधारमा समर्पण मूल्य, बीमालेख धितो कर्जा, अग्रिम दाबी भुक्तानी, जीवित लाभ (सर्भाइभल बेनिफिट), मृत्यु दाबी तथा परिपक्व दाबी भुक्तानी प्राप्त गर्ने व्यवस्था रहेको एलआइसी नेपालले जनाएको छ।