तरुण खबर
६ पुष २०८२, आईतवार ११:३४
विगत लामो समयदेखि लगानी व्यवस्थापन सेवा सञ्चालन गर्दै आएको मुक्तिनाथ क्यापिटल लिमिटेडले लगानीकर्ता लक्षित नयाँ योजना ‘मुक्तिनाथ प्रोटेक्सन पोर्टफोलियो’ सार्वजनिक गरेको छ।
यस योजनाअन्तर्गत लगानीकर्ताले न्यूनतम १० लाख रुपैयाँबाट लगानी सुरु गर्न सक्नेछन्। लगानीको रकमअनुसार लगानीकर्ताले दुर्घटना बीमा, औषधोपचार बीमा तथा गम्भीर प्रकृतिका रोगको बीमा सुविधासमेत प्राप्त गर्न सक्ने व्यवस्था गरिएको कम्पनीले जनाएको छ।
कम्पनीका अनुसार भविष्यमा हुन सक्ने आकस्मिक दुर्घटना, स्वास्थ्य समस्या जस्ता अनिश्चित घटनाबाट उत्पन्न हुने सम्भावित आर्थिक क्षतिलाई समेत सम्बोधन गर्नु यस योजनाको मुख्य उद्देश्य हो। “आजको लगानी, भोलिको सुरक्षा” भन्ने नारासहित ल्याइएको यो योजनाले लगानी र सुरक्षालाई एउटै संरचनामा समेट्ने प्रयास गरेको छ।
मुक्तिनाथ क्यापिटलले यो योजनामार्फत लगानीकर्तालाई एकातिर आफ्नो पूँजीबाट सम्भावित प्रतिफल आर्जन गर्ने अवसर प्रदान गर्ने र अर्कोतिर भविष्यमा हुन सक्ने स्वास्थ्यसम्बन्धी दुर्घटनाबाट हुने आर्थिक जोखिम न्यूनीकरण गर्ने सुविधा उपलब्ध गराउने जनाएको छ।
लगानीकर्ताको हितलाई प्राथमिकतामा राख्दै दीर्घकालीन रूपमा सुरक्षित र व्यवस्थित लगानी सेवा प्रदान गर्ने प्रतिबद्धता अनुरूप यो नयाँ पोर्टफोलियो योजना ल्याइएको कम्पनीको भनाइ छ।


