ग्लोबल आइएमई बैंक लिमिटेड र फ्लोरिकल्चर एसोसिएशन नेपालबीच पुष्प खेती तथा आलङ्कारीक बोटबिरुवामा हरितगृह प्रविधिको प्रयोग र सहज कर्जा प्रणाली विकास गर्न समझदारी पत्रमा हस्ताक्षर भएको छ।
बैंकका इन्फ्रास्ट्रक्चर तथा प्रोजेक्ट फाइनान्सिङ प्रमुखाशीम कर्माचार्य र फ्लोरिकल्चर एसोसिएशन नेपालका अध्यक्ष राजेश भक्त श्रेष्ठले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन्।
सम्झौता अनुसार, बैंकले पुष्प व्यवसायी तथा कृषकहरूलाई लक्षित विशेष हरितगृह कर्जा प्रवाह गर्नेछ भने फ्लोरिकल्चर एसोसिएशन नेपालले आफ्ना सदस्यहरूलाई बैंकको कृषि कर्जा योजनाबारे जानकारी दिनेछ। यसबाट व्यवसायी र कृषकको पुष्प उत्पादन तथा उत्पादकत्वमा वृद्धि, हरितगृह प्रविधिको प्रवद्र्धन, गुणस्तरीय पूर्वाधार विकास र सेवा सुधारमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।
सहकार्यले जलवायु अनुकुलन अभ्यास, दिगो व्यवसाय र आधुनिक प्रविधिलाई आत्मसात गर्न पुष्प व्यवसायी र कृषकलाई उत्प्रेरित गर्ने विश्वास लिइएको छ। बैंकको विस्तृत सेवा संरचनाअन्तर्गत ३५२ शाखा, ३८४ एटिएम, १५० शाखारहित बैंकिङ सेवा, ६८ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर र ३ वटा वैदेशिक प्रतिनिधि कार्यालय छन्।
ग्लोबल आइएमई बैंकले बैंक अफ द इयर २०१४, बेष्ट इन्टरनेट बैंक २०१६, बेष्ट बैंक नेपाल २०२४–२०२५, युरो मनी अवार्ड फर एक्सलेन्स २०२२, २०२४–२०२५ लगायतका प्रतिष्ठित अवार्डहरू प्राप्त गरिसकेको छ।




