अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी

अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी तरुण संवाददाता ७ पुष २०८२, सोमबार १६:५५
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी

काठमाडौँ । अमेरिकाका विभिन्न सात सहरमा बस्ने नेपाली जातिका प्रतिभाबीच भएको गायन प्रतियोगितामा कोलम्बसकी १३ वर्षीय किशोरी आर्या खनाल प्रथम भएकी छिन् । नृत्य प्रतिस्पर्धामा कोलम्बसकै १३ वर्षीय खुसी अधिकारी विजयी भएकी छन् ।

नेपाली जातिहरुको बाक्लो बस्ती भएका ओहायोको कोलम्बस, एक्रोन, सिन्सिनाटी तथा पेन्सिलभेनियाको ह्यारिसवर्ग, ल्यानकास्टर, पिट्सवर्ग र स्क्रान्टनका प्रतिभाहरुले भाग लिएका थिए । इन्ट्रा नेसनल वेलफेयर एण्ड सपोर्ट फाउण्डेसन अफ अमेरिकाको आयोजनामा ओहायोको एक्रोनमा भेला भएका यी प्रतिभाहरुबीच यही डिसेम्बर २० र २१ मा प्रतियोगिता आयोजना भएको थियो ।

प्रस्तुतिमा गायनतर्फ सिन्सिनाटीका दिगान्त गुरुङ दोस्रो भएका थिए भने नृत्यतर्फ ल्यानकास्टरकी आयुसा चापागाई दोस्रो भएको फाउण्डेसनले विज्ञप्तिमार्फत जनाएको छ । कोलम्बसकै कुञ्जन सुवेदी गायनतर्फ तेस्रो भइन भने ह्यारिसवर्गकी सामन्था क्षेत्री नृत्यतर्फ तेस्रो पुरस्कार जित्न सफल भइन् ।

अमेरिकामै जन्मेहुर्केका नेपाली जातिका बालबालिका र किशोरकिशोरीहरुलाई नेपाली कला संस्कृतितर्फ आकर्षित गर्ने चुनौतीपूर्ण कार्य विगत १० वर्षदेखि निरन्तर गरिहेको बताउँदै फाउण्डेसनका अध्यक्ष डिल्ली अधिकारीले भुटानबाट लखेटिनुपर्दा नछाडेको नेपाली संस्कृतिलाई पुस्तान्तरणको अभियानमा सबैको साथको अपेक्षा गरे ।

विजेताहरुलाई पुरस्कार र प्रमाणपत्र वितरण गर्दै उनले नेपाली जातिको पहिचान लिएर गर्वका साथ जीवन जीउन सिकाउन फाउण्डेसनले सात सहरहरुमा सातवटा नेपाली नृत्य र संगीतका कक्षाहरु सञ्चालन गरिरहेको जानकारी दिए । यी कक्षाहरुमा एक हजार ३०० नेपाली मूलका बालबालिका, किशोर किशोरीहरु अध्ययनरत छन् ।

यी विद्यार्थीहरुबाट विद्यालयमै गइ अडिसन गराइ छानेर ल्याइएका १०–१० जनाका विद्यार्थीका समूहबीच गराइएको नृत्य प्रतियोगितामा पेन्सिलभेनियाको ल्यान्काष्टर समूह प्रथम भयो भने पेन्सिलभेनियाकै ह्यारिसवर्ग समूह दोस्रो र ओहायोको कोलम्बस समूह तेस्रो भएको छ ।

प्रतिस्पर्धामा एकल गायन, एकल नृत्य र समूह नृत्यमा प्रथम हुनेले तीन हजार अमेरिकी डलर पुरस्कार प्राप्त गरेका छन् भने दोस्रो हुनेले दुई हजार र तेस्रो हुनेले एक हजार अमेरिकी डलर पुरस्कार प्राप्त गरेका छन् । गायन प्रतियागिताको निर्णायकम अञ्जु पन्त, सुजता वर्मा र गायक अर्जुन रसाइली थिए । नृत्यतर्फका निर्णायकमा दिलीप रायमाझी, सारंगा श्रेष्ठ र नृत्यविद् आरती शर्मा थिए । कार्यक्रम संयोजक चन्द्र पराजुलीका अनुसार गायनतर्फ २२ जना प्रतिस्पर्धी र नृत्यतर्फ ३४ जना सहभागी थिए । सामूहिक नृत्यतर्फ ६ वटा समूहले प्रतिस्पर्धा गरेका थिए ।