तरुण संवाददाता
९ पुष २०८२, बुधबार १६:३०
काठमाडौँ । सरकारले राहदानी र वैदेशिक श्रम स्वीकृति वडाबाटै दिने तयारी गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री राजेन्द्रसिंह भण्डारीले राहदानी, श्रम स्वीकृतिलगायतका सबै कागजात वडा तहबाटै पाउने व्यवस्था गर्न गृहकार्य गरिरहेको बताएका छन् ।
बुधबार काठमाडौँमा आयोजित अनौपचारिक र स्वरोजगार श्रमिकहरूको सामाजिक सुरक्षा राष्ट्रिय अभियान शुभारम्भ कार्यक्रममा उनले यस्तो बताएका हुन् ।
मन्त्री भण्डारीले वैदेशिक रोजगारीमा जानेहरूले श्रम स्वीकृतिलगायतका कागजात लिने कामका ठगीलगायतका विभिन्न खालका झमेला व्यहोर्नु परिरहेको उल्लेख गर्दै त्यसलाई अन्त्य गर्न पनि वडा तहबाटै त्यस्ता खालका कागजात उपलब्ध गराउन आवश्यक रहेको बताएका हुन् ।
भण्डारीले देशमा सानो काम गर्न पनि विभिन्न खालका झमेला व्यहोर्नुपर्ने भएपछि नेपाली युवाहरू श्रमको खोजीको बिदेसिन बाध्य हुनु परेको बताए । उनले राज्यले श्रमिकहरूको हितमा काम गर्न नसक्दा उनीहरूले दलालहरूको फन्दामा फस्नुपर्ने अवस्था आएकोसमेत दाबी गरे । नागरिकले सबैभन्दा ठूलो झमेला राहदानी र वैदेशिक श्रम स्वीकृति लिन बेहोर्दै आएका छन् ।


