नेपाल उद्योग वाणिज्य महासंघको आयोजनामा बुधबार “शान्ति, स्थायित्व र समृद्धिका लागि सहकार्य” विषयक सर्वपक्षीय राष्ट्रिय संवाद आयोजना हुने भएको छ। मुलुकको राजनीतिक र आर्थिक अवस्था सुदृढ गर्दै साझा धारणा निर्माण गर्ने उद्देश्यसहित उक्त संवाद आयोजना गर्न लागिएको महासंघले जनाएको छ।
प्रधानमन्त्री सुशीला कार्कीको प्रमुख आतिथ्यमा हुने कार्यक्रममा प्रमुख राजनीतिक दलका प्रतिनिधि, निजी क्षेत्र, युवा पुस्ता (जेनजी), नागरिक समाज तथा सञ्चार क्षेत्रका सरोकारवालाहरूको सहभागिता रहनेछ। संवादमार्फत राजनीतिक स्थायित्व, आर्थिक सुधार, लगानी अभिवृद्धि तथा राष्ट्र निर्माणमा युवाको भूमिकाबारे साझा दृष्टिकोण तय गर्ने लक्ष्य लिइएको छ।
महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले मुलुकको आर्थिक पुनरुत्थानका लागि शान्ति र स्थायित्व अपरिहार्य शर्त भएको उल्लेख गर्दै देशको दीर्घकालीन विकास र समृद्धिका लागि सबै पक्षबीच सहकार्य आवश्यक रहेको बताए। “राजनीतिक स्थायित्व, स्पष्ट नीतिगत दिशा र विश्वासयोग्य वातावरण बिना लगानी सम्भव हुँदैन,” अध्यक्ष ढकालले भने, “यही कारण सबै सरोकारवालालाई एउटै मञ्चमा ल्याएर संवाद र सहकार्यको वातावरण निर्माण गर्ने उद्देश्यले यो पहल गरिएको हो।”
उनले निजी क्षेत्र मुलुकको समृद्धिको प्रमुख साझेदार भएको उल्लेख गर्दै युवापुस्ताको ऊर्जा उद्यमशीलता, नवप्रवर्तन र उत्पादनशील क्षेत्रमा उपयोग गर्न सकिए अर्थतन्त्रलाई नयाँ गति दिन सकिने विश्वास व्यक्त गरे।
महासंघका अनुसार उक्त राष्ट्रिय संवादले सरकार, राजनीति, निजी क्षेत्र र युवाबीच विश्वास अभिवृद्धि गर्दै दीर्घकालीन आर्थिक विकासका लागि साझा कार्यदिशा तय गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।
मुलुकमा शान्ति सुव्यवस्था कायम गर्न, लगानीमैत्री वातावरण निर्माण गर्न तथा निजी क्षेत्रको मनोबल उच्च राख्ने उद्देश्यले महासंघले निरन्तर छलफल, अन्तरक्रिया र पैरवी गर्दै आएको छ। सोही प्रयासको निरन्तरताका रूपमा महासंघले हालै “राष्ट्रिय आर्थिक बहस २.०” सफलतापूर्वक सम्पन्न गरिसकेको जनाएको छ।




