तरुण खबर
१८ पुष २०८२, शुक्रबार ११:०३
सन् २०२५ मा नेपाल भ्रमण गर्ने विदेशी पर्यटकको संख्या ११ लाख ५८ हजार नाघेको छ। नेपाल पर्यटन बोर्डका अनुसार वर्षभरिमा कुल ११ लाख ५८ हजार ४५९ जना अन्तर्राष्ट्रिय पर्यटक नेपाल आएका छन्, जसले पर्यटन क्षेत्रमा क्रमिक पुनरुत्थानको संकेत दिएको छ।
सरकारले सन् २०२५ का लागि १६ लाख पर्यटक भित्र्याउने लक्ष्य राखेको भए पनि उक्त लक्ष्य पूरा हुन सकेन। तर अघिल्लो वर्षको तुलनामा पर्यटक आगमनमा वृद्धि भएको पर्यटन बोर्डले जनाएको छ। सन् २०२४ मा नेपाल भ्रमण गर्ने पर्यटक संख्या ११ लाख ४७ हजार ५६७ रहेको थियो।
वर्षको अन्तिम महिना डिसेम्बरमा मात्र ९८ हजार १९० जना विदेशी पर्यटक नेपाल भित्रिएका छन्। यो संख्या सन् २०२४ को सोही महिनाको तुलनामा ७ प्रतिशतले बढी हो, जसले वर्षको अन्त्यतिर पर्यटन गतिविधि थप सक्रिय भएको देखाउँछ।
गत वर्ष भदौ २३ र २४ गते भएको ‘जेन–जी आन्दोलन’ का कारण नेपालको बाह्य पर्यटन क्षेत्रमा करिब एक महिनासम्म नकारात्मक प्रभाव परेको थियो। त्यसका बाबजुद पनि सन् २०२५ मा समग्र पर्यटक आगमन अघिल्लो वर्षको तुलनामा बढ्नु सकारात्मक संकेतका रूपमा लिइएको छ।
भारत अग्रस्थानमा, अमेरिका र चीन पछ्याउँदै
सन् २०२५ मा पनि छिमेकी मुलुक भारत नेपाल भ्रमण गर्ने पर्यटकहरूको सूचीमा पहिलो स्थानमा रह्यो। भारतबाट २ लाख ९२ हजार ४३८ जना पर्यटक नेपाल आएका छन्, जुन कुल आगमनको २५.२ प्रतिशत हो।
दोस्रो स्थानमा अमेरिका रहेको छ, जहाँबाट १ लाख १२ हजार ३१६ जना पर्यटक नेपाल आएका छन्, यो ९.७ प्रतिशत हो। चीनबाट ९५ हजार ४८० जना (८.२ प्रतिशत) पर्यटक नेपाल आएका छन्। चौथो स्थानमा रहेका मुलुकबाट ५८ हजार ६ सय ८४ जना, अर्थात ९.७ प्रतिशत पर्यटकको आगमन भएको छ।
यसैगरी बङ्गलादेशबाट ५७ हजार ५ सय ४५ (५ प्रतिशत), अस्ट्रेलियाबाट ४९ हजार ३ सय ५७, श्रीलंकाबाट ३७ हजार ५ सय ५०, थाइल्यान्डबाट ३० हजार २ सय ४३, जर्मनीबाट ३० हजार २ सय २७ र जापानबाट २४ हजार ७ सय ६३ जना पर्यटक नेपाल आएका छन्।
क्षेत्रीय आधारमा सार्कको वर्चस्व
क्षेत्रीय वितरणका आधारमा दक्षिण एसियाली (सार्क) मुलुकहरूबाट सबैभन्दा बढी ३५.२ प्रतिशत पर्यटक नेपाल आएका छन्। अन्य एसियाली मुलुकहरूको हिस्सा २१.९ प्रतिशत रहेको छ भने युरोपबाट १९.१ प्रतिशत पर्यटकले नेपाल भ्रमण गरेका छन्।
यसैगरी अमेरिकाबाट ११.७ प्रतिशत, ओशिनिया क्षेत्रबाट ४.६ प्रतिशत, मध्यपूर्वबाट १.८ प्रतिशत र अफ्रिकी मुलुकहरूबाट ०.४ प्रतिशत पर्यटक नेपाल आएका छन्। बाँकी ५.५ प्रतिशत पर्यटक अन्य विभिन्न मुलुकहरूबाट आएको बोर्डले जनाएको छ।
२०२६ मा आसियानतर्फ केन्द्रित अभियान
नेपाल पर्यटन बोर्डले सन् २०२६ लाई ‘आसियान पर्यटन वर्ष’ का रूपमा मनाउने घोषणा गरेको छ। यस अभियानअन्तर्गत २०२६ मा आसियान क्षेत्रबाट पर्यटक आगमन कम्तीमा ५० प्रतिशतले बढाउने लक्ष्य लिइएको छ।
हाल वार्षिक करिब १ लाख हाराहारी पर्यटक आसियान क्षेत्रबाट नेपाल आउने गरेका छन्, जसमा थाइल्यान्ड, म्यानमार, भियतनाम, कम्बोडिया लगायतका देश समावेश छन्। बोर्डका अनुसार लक्षित बजारमा प्रवर्द्धन बढाइँदा आगामी वर्षहरूमा नेपालको पर्यटन क्षेत्र थप सशक्त बन्ने अपेक्षा गरिएको छ।


