शोकबीच एकता: स्विट्जरल्यान्डको स्की रिसोर्टमा उद्धार अभियान तीव्र

शोकबीच एकता: स्विट्जरल्यान्डको स्की रिसोर्टमा उद्धार अभियान तीव्र तरुण खबर १८ पुष २०८२, शुक्रबार ११:०६
शोकबीच एकता: स्विट्जरल्यान्डको स्की रिसोर्टमा उद्धार अभियान तीव्र

स्विट्जरल्यान्डको एक चर्चित स्की रिसोर्टमा नयाँ वर्षको उत्सवका क्रममा भएको भीषण आगलागीमा कम्तीमा ४० जनाको ज्यान गएको छ भने ११५ भन्दा बढी घाइते भएका छन्। घटना स्विट्जरल्यान्डको दक्षिणी भागमा रहेको क्रान्स–मोन्टाना स्की रिसोर्टमा भएको हो।

बीबीसीले प्रहरीलाई उद्धृत गर्दै जनाएअनुसार स्थानीय समयअनुसार राति करिब १:३० बजे ‘ले कन्स्टेलेसन’ नामक बारमा आगलागी भएको थियो। सो समय बारमा नयाँ वर्षको पार्टी चलिरहेको थियो। घटनाको कारणबारे अनुसन्धान जारी रहे पनि यो कुनै आक्रमण नभएको अधिकारीहरूले स्पष्ट पारेका छन्।

घटनामा विभिन्न देशका नागरिक प्रभावित भएका छन्। क्षेत्रीय प्रहरी कमाण्डर फ्रेडरिक गिस्लरका अनुसार मृतकहरूको पहिचान गरी चाँडोभन्दा चाँडो परिवारलाई शव हस्तान्तरण गर्नु अहिलेको मुख्य प्राथमिकता रहेको छ।

आगलागी भएको भ्याले क्षेत्र पर्यटकहरूका लागि अत्यन्त लोकप्रिय मानिन्छ। घटनापछि तत्काल १३ वटा हेलिकप्टर, ४२ एम्बुलेन्स र करिब १५० जना आपतकालीन उद्धारकर्मी परिचालन गरी व्यापक उद्धार तथा उपचार कार्य अघि बढाइएको थियो।

क्षेत्रीय गभर्नर म्याथियास रेनार्डका अनुसार धेरै घाइतेलाई गम्भीर जलन भएको छ भने ६० जनालाई भ्यालेकै सियोन अस्पतालमा भर्ना गरिएको छ। सघन उपचार कक्ष भरिएकाले स्थानीय बासिन्दालाई अनावश्यक रूपमा अस्पताल नआउन आग्रह गरिएको छ।

केही घाइतेलाई लोजान, ज्युरिख र जेनेभा जस्ता सहरमा रहेका विशेष बर्न युनिट भएका अस्पतालमा सारिएको छ। चिकित्सकहरूका अनुसार घाइतेमध्ये केही १५ देखि २५ वर्ष उमेर समूहका युवायुवती छन्, जसको अवस्था गम्भीर रहेको छ।

यसैबीच, इटालीले आफ्ना १६ नागरिक अझै बेपत्ता रहेको र १२ देखि १५ जनाको उपचार भइरहेको जनाएको छ। फ्रान्सले पनि आफ्ना केही नागरिक बेपत्ता हुन सक्ने आशंका व्यक्त गरेको छ। मृतक तथा घाइतेको यकिन संख्या र उनीहरूको राष्ट्रियता पुष्टि गर्ने काम अझै जारी रहेको अधिकारीहरूले बताएका छन्।

क्रान्स–मोन्टाना सन् १९८० को दशकमा विश्वकप स्किइङ आयोजना भएपछि अन्तर्राष्ट्रिय रूपमा परिचित लक्जरी रिसोर्ट हो। दशकौँ पुरानो ‘ले कन्स्टेलेसन’ बारमा तल नाचगान र माथिल्लो तलामा खेलकुद हेर्ने व्यवस्था रहेको बताइएको छ।

यस दुःखद घटनाप्रति बेलायत, फ्रान्सलगायत युरोपेली संघका नेताहरूले गहिरो शोक व्यक्त गर्दै पीडित परिवारप्रति समवेदना प्रकट गरेका छन्। साथै उद्धार, उपचार र आवश्यक सहयोगका लागि सम्बन्धित निकायहरूसँग समन्वय गर्न आफूहरू तयार रहेको उनीहरूले जनाएका छन्।