तरुण खबर
१८ पुष २०८२, शुक्रबार ११:२१
विश्वका धेरै देशमा विद्युतीय सवारी (ईभी) अझै पनि धनी वर्गको विलासिताको साधनका रूपमा हेरिँदै आएको छ। उच्च मूल्य, सीमित चार्जिङ पूर्वाधार र पर्याप्त सरकारी सहयोगको अभावका कारण ईभी धेरै मुलुकमा आम नागरिकको पहुँचभन्दा बाहिर छन्। यही कारण आज पनि विश्वका धेरै सहरमा पेट्रोल र डिजेल गाडी नै मुख्य यातायातको साधन बनेका छन्।
तर चीनको अवस्था भने बिल्कुलै फरक छ। चीनमा विद्युतीय सवारी कुनै नयाँ वा विशेष प्रविधि होइन, बरु दैनिक जीवनको सामान्य हिस्सा बनिसकेको छ। चीनमा एक वर्षमा बिक्री हुने कुल गाडीमध्ये झण्डै ५० प्रतिशत विद्युतीय हुन्छन्, अर्थात् प्रत्येक दुईमध्ये एक नयाँ गाडी ईभी हो। यो आँकडा विश्वका अन्य देशका लागि अझै कल्पनाजस्तै लागे पनि चीनका लागि सामान्य यथार्थ भइसकेको छ।
यही कारण चीनलाई आज विश्वकै सबैभन्दा ठूलो र प्रभावशाली विद्युतीय सवारी बजारका रूपमा हेरिन्छ, जहाँ ईभी विलासिता होइन, आम जनताको रोजाइ बनेको छ।
दूरदृष्टि र दीर्घकालीन योजना
यस शताब्दीको सुरुवातमै चीनको नेतृत्वले भविष्यका प्रविधिमा अग्रणी बन्ने लक्ष्यसहित रणनीति बनाएको थियो। कहिल्यै साइकलको देश भनेर चिनिने चीन आज विश्वकै अग्रणी ईभी निर्माता बनेको छ। १ करोड ८० लाखभन्दा बढी जनसंख्या भएको ग्वाङ्झाउजस्ता ठूला सहरमा अहिले ट्राफिक जाम हुँदा पनि इन्जिनको ठूलो आवाज होइन, शान्त र कम आवाज सुनिन्छ। पेट्रोल र डिजेल गाडीको सट्टा विद्युतीय सवारीको व्यापक प्रयोगले ध्वनि प्रदूषण घटेको र सहरको यातायात संस्कृतिमा ठूलो परिवर्तन आएको देखिन्छ।
विश्लेषकहरूका अनुसार विद्युतीय सवारीको क्षेत्रमा चीन अन्य देशभन्दा करिब १० वर्ष अगाडि र १० गुणा बढी सक्षम अवस्थामा पुगेको छ।
बिवाइडीदेखि स्टार्टअपसम्म
यस वर्ष मात्र चिनियाँ कम्पनी बिवाइडी (BYD) ले अमेरिकाको टेस्लालाई उछिनेर विश्वकै सबैभन्दा ठूलो ईभी निर्माता बन्न सफल भएको छ। १ अर्ब ४० करोडभन्दा बढी जनसंख्या भएको विशाल घरेलु बजारले बिवाइडीको बिक्रीलाई बलियो आधार दिएको छ। बिवाइडीसँगै सस्तो ईभी उत्पादन गर्ने अन्य धेरै चिनियाँ स्टार्टअपहरू पनि विश्व बजारतर्फ तीव्र गतिमा अघि बढिरहेका छन्।
वान गाङ र ‘गेम चेञ्जर’ सोच
चीनको ईभी प्रभुत्वको जग सन् २००७ मा व्यापार तथा विज्ञान मन्त्री बनेका जर्मनीमा प्रशिक्षित इन्जिनियर वान गाङसँग जोडिन्छ। त्यसबेला चिनियाँ सहरका सडकमा विदेशी ब्रान्डका गाडीको वर्चस्व थियो र स्वदेशी ब्रान्डहरू गुणस्तर तथा प्रतिष्ठामा प्रतिस्पर्धा गर्न सक्ने अवस्थामा थिएनन्। तर चीनसँग स्रोत, दक्ष श्रमिक र बलियो आपूर्ति प्रणाली भएकाले वान गाङले विद्युतीय सवारीलाई ‘गेम चेञ्जर’ बनाउने मास्टर प्लान अघि सारे।
सन् २००१ मै पाँचवर्षे योजनामा ईभी समावेश गरिए पनि २०१० को दशकमा सरकारले उद्योग विस्तारका लागि ठूलो मात्रामा अनुदान दिन थाल्यो। २००९ देखि २०२३ सम्म १५ वर्षको अवधिमा चीनले विद्युतीय सवारी उद्योगको विकासमा २३०.९ अर्ब अमेरिकी डलर खर्च गरेको अमेरिकन सेन्टर फर स्ट्राटेजिक एण्ड इन्टरनेशनल स्टडीज (CSIS) को प्रतिवेदनमा उल्लेख छ।
अनुदान, पूर्वाधार र प्रतिस्पर्धा
चीनले ईभी उत्पादन र प्रयोग बढाउन उपभोक्तालाई कर छुट, बिक्री करमा १० प्रतिशतसम्म छुट, चार्जिङ स्टेशन निर्माणमा सरकारी लगानी तथा अनुसन्धान र विकासमा सहयोग गर्दै आएको छ। सन् २०२३ मा राज्यको सहयोगअन्तर्गत भएको कुल खर्चमध्ये ८७.४ प्रतिशत बिक्री कर छुटमा र ९.४ प्रतिशत अनुसन्धान तथा विकासमा खर्च भएको देखिन्छ।
यस नीतिले उपभोक्ता, गाडी निर्माता, बिजुली प्रदायकदेखि ब्याट्री आपूर्तिकर्तासम्म सबैलाई फाइदा पुर्याएको छ। यही वातावरणले बिवाइडीलाई स्मार्टफोन ब्याट्रीबाट ईभी उत्पादनतर्फ मोड्न प्रेरित गर्यो। निङदेस्थित सीएटीएल कम्पनी, जसले टेस्ला, भोक्सवागन र फोर्डलाई ब्याट्री आपूर्ति गर्छ, आज विश्वका एकतिहाइ ईभी ब्याट्री उत्पादन गर्छ।
विश्व बजार र चुनौती
चिनियाँ ईभीलाई आधार दिएको सरकारी अनुदानलाई लिएर अमेरिका, क्यानडा र युरोपेली संघले भारी आयात कर लगाएका छन्। तर बेलायतले भने त्यसतर्फ नजाने संकेत दिएको छ। संयुक्त राष्ट्रसंघले जलवायु संकट समाधानका लागि ईभी रूपान्तरण निर्णायक हुने बताइसकेको छ। धेरै पश्चिमी देशले २०३० पछि पेट्रोल र डिजेल गाडी बिक्रीमा प्रतिबन्ध लगाउने घोषणा गरिसकेका छन्, जसका लागि चीनजत्तिको तयारी अरू कुनै देशसँग देखिँदैन।
आज विश्वमा ईभी बनाउन चाहने कम्पनीहरू ब्याट्री र चिप्सका लागि चीनमा निर्भर छन्। कतिपयले यसलाई ‘राज्य पुँजीवाद’ भनेका छन् भने चिनियाँ अधिकारीहरू सबै कम्पनीले समान अवसर पाउने दाबी गर्छन्।
एक्सपेङका अध्यक्ष ब्रायन गुका अनुसार चीनले नीति सहयोग, उपभोक्ता प्रोत्साहन र पूर्वाधार निरन्तर र प्रतिस्पर्धी ढंगले विकास गरेको छ। एक्सपेङजस्तो कम्पनी एक दशक नपुगेको इतिहास हुँदाहुँदै पनि विश्वका शीर्ष १० ईभी उत्पादकमा परिसकेको छ।
ईभी आम जनताको रोजाइ
चीनमा ईभी आर्थिक रूपमा पनि आकर्षक बनेको छ। पुरानो गाडी साटेर ईभी किन्दा अनुदान, कर छुट र सस्तो चार्जिङ सुविधा पाइन्छ। पेट्रोल गाडीमा ४०० किलोमिटर चलाउन २०० युआन खर्च हुने ठाउँमा अहिले ईभीमा त्यो खर्च चौथाइमा झरेको छ। नम्बर प्लेटका लागि हजारौँ खर्चिनुपर्ने चीनमा ईभीका लागि हरियो प्लेट नि:शुल्क उपलब्ध छ।


