तरुण खबर
२० पुष २०८२, आईतवार ११:५९
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार फ्लोरिडामा आयोजित पत्रकार सम्मेलनमा भनेका छन् कि अमेरिकाका तेल कम्पनीहरूले भेनेजुएलाको बिग्रिएको तेल पूर्वाधार सुधार्न अरबौं डलर खर्च गर्नेछन् र यसबाट दक्षिण अमेरिकी देशले आम्दानी सुरु गर्नेछ।
ट्रम्पले भने, “हामी तेल व्यवसायमा छौं र अन्य इच्छुक देशहरूलाई तेल बिक्री गर्नेछौं। भेनेजुएलाको पूर्वाधार कमजोर भएको कारण उनीहरूले धेरै तेल उत्पादन गर्न सकेका थिएनन्। हामी ठूला अमेरिकी तेल कम्पनीमार्फत यस पूर्वाधार सुधार्ने र देशको लागि आम्दानी सुरु गर्ने योजना बनाएका छौं।”
उनले भेनेजुएलाको तेल व्यवसाय लामो समयदेखि ‘पूर्ण रूपमा असफल’ भएको उल्लेख गर्दै अमेरिकाका ठूला तेल कम्पनीहरूले अरबौं डलर लगानी गरेर पूर्वाधार मर्मत गर्ने बताए।
यसअघि अमेरिकी सैन्य अपरेशनमा राष्ट्रपति निकोलास मादुरो र उनकी पत्नी पक्राउ परेपछि ट्रम्पले अस्थायी रूपमा भेनेजुएला प्रशासन अमेरिकी अधिकारीहरूले सञ्चालन गर्ने पनि बताएका छन्। ट्रम्पका अनुसार, “हामी तबसम्म देश चलाउनेछौं जबसम्म शान्तिपूर्ण, न्यायपूर्ण र सुरक्षित संक्रमण सम्भव हुन्छ। हामी भेनेजुएलाका जनताको हित सुनिश्चित गर्न प्रत्यक्ष उपस्थित रहनेछौं।”
ट्रम्पले अमेरिकी हस्तक्षेपको उद्देश्य भेनेजुएलामा स्थिरता, शान्ति र स्वतन्त्रता सुनिश्चित गर्नु रहेको बताए र अन्यको नियन्त्रणले नागरिकको हित विपरित हुने खतरालाई अस्वीकार गरेका छन्।


