महिलाको सहभागिता सशक्त रूपमा स्थापित नहुँदासम्म समावेशी विकास सम्भव नहुने: शर्मा

महिलाको सहभागिता सशक्त रूपमा स्थापित नहुँदासम्म समावेशी विकास सम्भव नहुने: शर्मा तरुण खबर २२ पुष २०८२, मंगलवार ०२:५०
महिलाको सहभागिता सशक्त रूपमा स्थापित नहुँदासम्म समावेशी विकास सम्भव नहुने: शर्मा

काठमाण्डौ/ पछिल्ला वर्षहरूमा उद्यमशीलता नेपालको आर्थिक विकास, रोजगारी सिर्जना र आत्मनिर्भर अर्थतन्त्रको महत्वपूर्ण आधार बन्दै गएको छ। तर यो यात्रामा महिलाको सहभागिता सशक्त रूपमा स्थापित नहुँदासम्म समावेशी विकास सम्भव नहुने स्पष्ट देखिएको छ।

नेपाल महिला चेम्बरकी उपाध्यक्ष एब युवा उद्यमी आरुश्री शर्मा खतिवडाले स्टार्टअप क्षेत्रमा महिलाका लागि अवसर बढ्दै गए पनि चुनौती अझै गहिरो रहेको बताएकी छन्। नीति रिसर्च प्रालि ले काठमान्डौमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले विदेशमा सिकेको सीप, अनुशासन र सोच नेपालमै प्रयोग गर्ने चाहना भए पनि सुरुका दिनमा अनेक संरचनागत अवरोध झेल्नुपरेको अनुभव सुनाइन्। “नेपाल फर्किएर केही गरौँ भन्ने चाहना धेरै युवामा छ, विशेषगरी महिलामा। तर नीति, वित्तीय पहुँच र सामाजिक सोच अझै पनि ठूलो चुनौती बनेका छन्,” उनले भनिन्।

खतिवडाका अनुसार प्रविधिको पहुँच विस्तार, डिजिटल बजार र स्टार्टअपमैत्री वातावरणले महिलाका लागि नयाँ सम्भावनाका ढोका खोलेको छ। कृषि, पर्यटन, सेवा, सिर्जनात्मक उद्योग र डिजिटल व्यवसायमा महिलाले आफ्नो सीप र ज्ञानलाई व्यवसायमा रूपान्तरण गरिरहेको अवस्था उत्साहजनक रहेको उनले बताइन्। मोबाइल फोन र इन्टरनेटले महिलालाई स्थानीय बजारमा सीमित नराखी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारसँग जोड्न सहयोग पुर्‍याएको उनको भनाइ थियो।