किमाथाङ्का अरुणमा स्वदेशी लगानीको ठोस बाटो खुल्यो

किमाथाङ्का अरुणमा स्वदेशी लगानीको ठोस बाटो खुल्यो तरुण खबर २२ पुष २०८२, मंगलवार ११:०६
किमाथाङ्का अरुणमा स्वदेशी लगानीको ठोस बाटो खुल्यो

सङ्खुवासभाको भोटखोला गाउँपालिका–२ मा निर्माण प्रस्तावित ४५४ मेगावाट क्षमताको किमाथाङ्का अरुण अर्धजलाशययुक्त जलविद्युत आयोजना स्वदेशी पूँजीमा अघि बढाउने गरी लगानी मोडालिटी तयार भएको छ।

निर्माण अवधिको व्याजसमेत जोड्दा आयोजनाको अनुमानित लागत ९७ अर्ब ९४ करोड रुपैयाँ रहेको छ। आयोजना सरकार र सरकारी निकायहरू संस्थापक रहेको विद्युत उत्पादन कम्पनी लिमिटेड ले नै निर्माण गर्नेछ।

तयार गरिएको वित्तीय मोडालिटीअनुसार कुल लागतको ७० प्रतिशत (६८ अर्ब ५५ करोड रुपैयाँ) ऋणबाट र ३० प्रतिशत (२९ अर्ब ३८ करोड रुपैयाँ) स्वःपूँजी (इक्विटी)बाट जुटाइनेछ।

सहवित्तीयकरणमार्फत ऋण व्यवस्थापन

आयोजनाका लागि हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलप्मेन्ट कम्पनी (एचआइडिसिएल), कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष, सामाजिक सुरक्षा कोष, बीमा कम्पनी तथा बैंक तथा वित्तीय संस्थाको सहवित्तीयकरणमार्फत ऋण लिने प्रस्ताव गरिएको छ।

इक्विटी तर्फको रकम कम्पनीका संस्थापक, गैरआवासीय नेपाली तथा वैदेशिक रोजगारीमा रहेका नेपाली, आयोजना प्रभावित जिल्लाका स्थानीय बासिन्दा, अतिविपन्न परिवार र सर्वसाधारणलाई सेयर निष्कासन गरी संकलन गरिनेछ।

मन्त्री घिसिङको निर्देशन

ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङ ले प्रस्तावित लगानी मोडालिटीको जानकारी लिँदै आयोजनाको लागत अद्यावधिक गरी सोहीअनुसार तत्काल वित्तीय व्यवस्थापन प्रक्रिया अघि बढाउन निर्देशन दिएका छन्।

विद्युत उत्पादन कम्पनीसँग आयोजना निर्माणका लागि आवश्यक अनुमतिपत्र भए पनि कुनै पनि आयोजना अघि बढ्न नसकेको उल्लेख गर्दै मन्त्री घिसिङले कम्पनीको दीर्घकालीन आम्दानी र दिगोपनका लागि किमाथाङ्का अरुण आयोजना आफैंले निर्माण गर्नु अपरिहार्य रहेको बताए।

उनले प्रस्तावित लगानी ढाँचा र त्यसअनुसारको संस्थागत इक्विटी योजना तत्काल कम्पनी सञ्चालक समितिबाट पारित गरी पेश गर्न निर्देशन दिए।

पूर्वतयारी सम्पन्न

आयोजनाको अध्ययन तथा पूर्वनिर्माणमा हालसम्म ७३ करोड १४ लाख रुपैयाँ खर्च भइसकेको छ। आयोजनाको कार्यालय तथा कर्मचारी आवास (क्याम्प) निर्माणका लागि आवश्यक जग्गा अधिग्रहण सम्पन्न भइसकेको छ।

बाँध, जलाशय, विद्युतगृह लगायतका संरचना निर्माणका लागि आवश्यक जग्गाको मुआब्जा तथा क्षतिपूर्ति निर्धारण भइसकेको छ, जसका लागि करिब ४५ करोड रुपैयाँ लाग्ने अनुमान छ।

उत्पादन र आम्दानी

आयोजनाबाट वार्षिक २ अर्ब ६९ करोड युनिट (२६९०.९७ गिगावाट आवर) विद्युत उत्पादन हुनेछ।
यसमा:

  • हिउँदयामको पिक ऊर्जा: ४७ करोड ३१ लाख युनिट

  • हिउँदयामको अफ–पिक ऊर्जा: ३५ करोड ३३ लाख युनिट

  • वर्षायामको ऊर्जा: १ अर्ब ८६ करोड ४६ लाख युनिट

उक्त विद्युत बिक्रीबाट वार्षिक १६ अर्ब ९१ करोड रुपैयाँ आम्दानी हुने अनुमान गरिएको छ।

सेयर संरचना

विद्युत उत्पादन कम्पनीमा:

  • सरकारको ३० प्रतिशत

  • नेपाल विद्युत प्राधिकरण, कर्मचारी सञ्चय कोष र नेपाल टेलिकमको १०–१० प्रतिशत

  • नागरिक लगानी कोषको ५ प्रतिशत

  • एचआइडिसिएलको ४ प्रतिशत

  • राष्ट्रिय जीवन बीमा कम्पनीको २ प्रतिशत

संस्थापक सेयर स्वामित्व रहेको छ। सर्वसाधारणका लागि २९ प्रतिशत सेयर छुट्याइएको छ।

स्वदेशी पूँजी, सरकारी नेतृत्व र व्यापक सार्वजनिक सहभागितामा अघि बढ्न लागेको किमाथाङ्का अरुण आयोजना ऊर्जा आत्मनिर्भरतातर्फको अर्को महत्वपूर्ण कदमका रूपमा हेरिएको छ।