२५ अर्बको राष्ट्र बैंक ऋणपत्र आज जारी

२५ अर्बको राष्ट्र बैंक ऋणपत्र आज जारी तरुण खबर २२ पुष २०८२, मंगलवार ११:१०
२५ अर्बको राष्ट्र बैंक ऋणपत्र आज जारी

नेपाल राष्ट्र बैंकले २५ अर्ब रुपैयाँ बराबरको ऋणपत्र जारी गर्ने भएको छ। केन्द्रीय बैंकले आज पुस २२ गते ‘नेपाल राष्ट्र बैंक ऋणपत्र २०८३ घ’ जारी गर्न लागेको हो।

राष्ट्र बैंकका अनुसार उक्त ऋणपत्रमा क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाहरूले मात्र आवेदन दिन सक्नेछन्। ऋणपत्रको बोलकबोल प्रक्रिया आज मध्याह्न २ बजेसम्म अनलाइनमार्फत सञ्चालन हुनेछ।

बोलकबोलकै माध्यमबाट यस ऋणपत्रको ब्याजदर निर्धारण गरिने नेपाल राष्ट्र बैंकले जनाएको छ।

एकवर्षे अवधिको ऋणपत्र

यो ऋणपत्र एक वर्षे अवधिको रहेको छ। यसको साँव भुक्तानी २०८३ साल पुस २२ गते हुने छ भने ब्याज अर्धवार्षिक रूपमा भुक्तानी गरिनेछ।

न्यूनतम ५ करोडबाट बोलपत्र

राष्ट्र बैंकका अनुसार यस ऋणपत्रमा न्यूनतम ५ करोड रुपैयाँ र ५ करोड रुपैयाँले भाग गर्दा निःशेष जाने गरी कुल आह्वान रकमसम्म बोलपत्र पेश गर्न सकिनेछ।

धितोका रूपमा प्रयोग गर्न सकिने

जारी हुने यो ऋणपत्र नेपाल राष्ट्र बैंक तथा अन्य बैंक तथा वित्तीय संस्थामा धितोका रूपमा प्रयोग गर्न सकिने व्यवस्था रहेको छ।

तरलता व्यवस्थापन र वित्तीय प्रणालीको स्थिरतालाई सुदृढ गर्ने उद्देश्यसहित जारी हुन लागेको यस ऋणपत्रलाई बैंक तथा वित्तीय संस्थाहरूका लागि सुरक्षित लगानी विकल्पका रूपमा हेरिएको छ।