इक्यान सचिवमा एलबी तामाङको उम्मेदवारी घोषणा

इक्यान सचिवमा एलबी तामाङको उम्मेदवारी घोषणा तरुण खबर २२ पुष २०८२, मंगलवार ११:१८
इक्यान सचिवमा एलबी तामाङको उम्मेदवारी घोषणा

शैक्षिक परामर्श व्यवसायीहरूको छाता संस्था नेपाल शैक्षिक परामर्श संघ (इक्यान) को केन्द्रीय सचिव पदका लागि एलबी तामाङले उम्मेदवारी घोषणा गरेका छन्। विगत डेढ दशकदेखि शैक्षिक परामर्श क्षेत्रमा सक्रिय तामाङले आउँदो पुस २८ गते हुने इक्यान निर्वाचनका लागि सचिव पदमा उम्मेदवारी दिएका हुन्।

तामाङले आफ्नो उम्मेदवारीलाई कुनै एक समूहको नभई समग्र इक्यान सदस्यहरूको साझा उम्मेदवारीका रूपमा व्याख्या गरेका छन्। निर्वाचन घोषणा गर्दै उनले इक्यानको ऐतिहासिक योगदानलाई आत्मसात् गर्दै वर्तमान चुनौतीको समाधान र भविष्यको स्पष्ट मार्गचित्रसहित आफू निर्वाचनमा होमिएको बताए।

उनले भने, “निर्वाचनमा समूह बन्नु स्वाभाविक हो, तर मेरो उम्मेदवारी समग्र इक्यानीयन साथीहरूको पक्षमा हो। इक्यानको गिर्दो साख जोगाउँदै यसलाई सम्पूर्ण शैक्षिक परामर्श व्यवसायीहरूको साझा संस्था बनाउने मेरो लक्ष्य हो।”

अनुभवलाई संस्थागत हितमा प्रयोग गर्ने प्रतिबद्धता

डेढ दशकको व्यवसायिक यात्रामा इक्यानका विभिन्न गतिविधिमा संलग्न हुँदै महत्वपूर्ण अनुभव र सिकाइ हासिल गरेको उल्लेख गर्दै तामाङले ती अनुभवलाई व्यवसायीहरूको हकहित संरक्षण र संस्थागत सुदृढीकरणमा प्रयोग गर्ने उद्देश्यले सचिव पदमा उम्मेदवारी दिएको स्पष्ट पारे।

“अहिलेसम्म सिकेका अनुभवलाई व्यवहारमा उतारेर शैक्षिक परामर्श व्यवसायीहरूले गर्व गर्न सक्ने संस्था बनाउन चाहन्छु,” उनले भने।

व्यवसायमैत्री वातावरण मुख्य एजेण्डा

शैक्षिक परामर्श क्षेत्रको व्यवसायिकता, नैतिकता र इमान्दारितामाथि पटक–पटक प्रश्न उठिरहेको अवस्थामा आत्मसम्मानपूर्वक व्यवसाय सञ्चालन गर्न पाउने वातावरण निर्माण, राज्यको अनुगमन र नियमनलाई व्यवसाय तथा कानुनमैत्री बनाउने, विद्यार्थी, अभिभावक र विदेशी नियोगसँगको सम्बन्धलाई थप सुदृढ बनाउने तामाङका प्रमुख एजेण्डा रहेका छन्।

सुशासन र प्रविधिमैत्री इक्यानको लक्ष्य

तामाङले संस्थागत सुशासन, पारदर्शिता, मितव्ययीता, जवाफदेहिता र प्रविधिमैत्री इक्यान निर्माणका लागि सक्रिय भूमिका खेल्ने प्रतिबद्धता जनाएका छन्। राजधानीमा मात्र सीमित नभई देशभरका सबै भूगोलमा रहेका इक्यान सदस्यहरूको साझा सचिवका रूपमा काम गर्ने उनले बताएका छन्।

उनको मूल नारा रहेको छ—
“सबल, सक्षम र पारदर्शी इक्यान, सम्पूर्ण व्यवसायीहरूको उत्थान!”

निर्वाचन प्रतिस्पर्धा

पुस २८ गते हुने इक्यान निर्वाचनमा अध्यक्ष पदका लागि वर्तमान कार्यसमितिका प्रथम उपाध्यक्ष एण्ड्रयू पौडेल र महासचिव दीपकराज भुसालबीच प्रतिस्पर्धा हुने देखिएको छ।