तरुण खबर
२३ पुष २०८२, बुधबार ११:१७
ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो स्थापनाको १९औँ वार्षिकोत्सवको अवसरमा बैंकमा १५ वर्ष सेवा पूरा गरेका १७५ जना कर्मचारीलाई सम्मान गरेको छ। काठमाडौँमा आयोजित विशेष समारोहमा ग्लोबल आइएमई बैंक तथा नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालको प्रमुख आतिथ्यमा दीर्घकालदेखि निरन्तर सेवा प्रदान गर्दै आएका कर्मचारीहरूलाई सम्मान गरिएको हो।
कार्यक्रममा बैंक सञ्चालक समितिका अध्यक्ष ढकालसहित सदस्यहरू राधेश पन्त, रामबहादुर भण्डारी, कृष्णप्रसाद शर्मा, मदनलाल जोशी र नारायणप्रसाद पौडेल, प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मी तथा नायब प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेलले संयुक्त रूपमा खादा र सम्मानपत्र प्रदान गर्दै कर्मचारीहरूलाई सम्मान गरे।
समारोहलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले मर्जर र व्यवसाय विस्तारसँगै बैंकले सेवाको गुणस्तर वृद्धिमा ध्यान दिँदै प्रविधिमैत्री र प्रभावकारी बैंकिङ सेवामा निरन्तर सुधार गरिरहेको बताए। १९ वर्षअघि १९औँ वाणिज्य बैंकका रूपमा स्थापना भएको ग्लोबल आइएमई बैंकले छोटो अवधिमै अधिकांश वित्तीय सूचकमा आफूलाई अब्बल बनाएको उल्लेख गर्दै उनले यसको सफलतामा नेतृत्वसँगै सम्पूर्ण टिमको सहकार्य, मेहनत र लगनशीलताको ठूलो भूमिका रहेको बताए।
ढकालले कर्मचारीहरूलाई अझ जिम्मेवार र लगनशील भई कर्तव्य निर्वाह गर्न आग्रह गर्दै बैंकलाई आजको अवस्थामा पुर्याउन योगदान दिने सम्पूर्ण कर्मचारीप्रति धन्यवाद व्यक्त गरे।
यसै अवसरमा प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीले बैंकले नवीनतम् र ग्राहकमैत्री सेवामा जोड दिँदै डिजिटल युगअनुकूल सेवा प्रवाह गर्ने लक्ष्यका साथ अघि बढिरहेको बताए। नायब प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेलले आगामी दिनमा ग्राहक सेवा र सन्तुष्टिलाई प्राथमिकतामा राख्दै अझ गुणस्तरीय बैंकिङ सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरे।
ग्लोबल आइएमई बैंक हालसम्म विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाबाट सम्मानित हुँदै आएको छ। बैंकले बैंक अफ द इयर २०१४, बेस्ट इन्टरनेट बैंक २०१६, बेस्ट बैंक नेपाल २०२४ र २०२५, युरो मनी अवार्ड फर एक्सलेन्स २०२२, २०२४ र २०२५, बेस्ट बैंक ईएसजी नेपाल २०२४ तथा बेस्ट इम्प्लोयरजस्ता प्रतिष्ठित अवार्डहरू प्राप्त गरिसकेको छ।
देशका ७७ वटै जिल्लामा शाखा सञ्जाल विस्तार गर्ने निजी क्षेत्रको पहिलो वाणिज्य बैंकको रूपमा रहेको ग्लोबल आइएमई बैंकले हाल ३५२ शाखा कार्यालय, ३८४ एटिएम, १५० शाखारहित बैंकिङ सेवा, ६८ एक्सटेन्सन तथा राजस्व सङ्कलन काउन्टर र तीन वटा वैदेशिक प्रतिनिधि कार्यालयमार्फत एक हजारभन्दा बढी सेवा केन्द्रबाट ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ।


