तरुण खबर
२३ पुष २०८२, बुधबार ११:२१
नेपालमा उत्पादित छुर्पीको निर्यात उल्लेख्य रूपमा बढेको छ। मेची भन्सार कार्यालयका अनुसार चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो पाँच महिनामा पूर्वी नाका काँकरभिट्टाबाट निर्यात हुने छुर्पीको परिमाण र मूल्य दुवैमा उत्साहजनक वृद्धि देखिएको छ।
मेची भन्सार कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईँका अनुसार साउनदेखि मङ्सिरसम्मको अवधिमा काँकरभिट्टा नाका हुँदै २ लाख ७५ हजार २४६ केजी छुर्पी निर्यात भएको छ, जसको कुल मूल्य ४८ करोड ५२ लाख ७३ हजार रुपैयाँ बराबर रहेको छ। यो अघिल्लो आर्थिक वर्ष २०८१/८२ को सोही अवधिको तुलनामा ३२ प्रतिशत बढी हो।
गत आर्थिक वर्षको साउन–मङ्सिर अवधिमा २ लाख १७ हजार ६८ केजी छुर्पी मात्र निर्यात भएको थियो, जसको मूल्य ३६ करोड ७६ लाख २३ हजार रुपैयाँ रहेको थियो। यस आधारमा चालु आवमा छुर्पी निर्यातबाट ११ करोड ७६ लाख ५० हजार रुपैयाँ बढी आम्दानी भएको छ।
काँकरभिट्टा नाका नेपाली छुर्पी निर्यातको मुख्य नाका मानिन्छ। मेची भन्सार कार्यालयका अनुसार यस नाकाबाट निर्यात हुने प्रमुख १० वस्तुहरूमध्ये छुर्पी चौथो स्थानमा पर्न सफल भएको छ, जसले यसको अन्तर्राष्ट्रिय बजारमा बढ्दो मागलाई संकेत गर्छ।
छुर्पी मुख्यतः नेपालका पहाडी तथा हिमाली जिल्लामा दुग्धजन्य पदार्थबाट उत्पादन हुँदै आएको छ। नेपालबाट निर्यात हुने अधिकांश छुर्पी युरोप र अमेरिका पुग्ने गरेको छ, जहाँ यसलाई कुकुर र बिरालोजस्ता घरपालुवा जनावरको खानाका रूपमा प्रयोग गरिन्छ।
नेपाल छुर्पी व्यवसायी सङ्घका महासचिव ऋषि तिम्सिनाका अनुसार नेपालमा उत्पादन हुने कुल छुर्पीको करिब ८० प्रतिशत हिस्सा कोशी प्रदेशले ओगटेको छ। उनले छुर्पी नेपालबाट निर्यात हुने प्रमुख उत्पादनमध्ये एक भए पनि यसको उत्पादन र व्यवसाय प्रवद्र्धनमा सरकारी तवरबाट अपेक्षित ध्यान नपुगेको गुनासो गरे।


