तरुण खबर
२३ पुष २०८२, बुधबार ११:२५
शिखर पावर डेभलपमेन्ट लिमिटेडले माघ ६ गतेदेखि आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) खुला गर्ने भएको छ।
कम्पनीले जारी पूँजी ९८ करोड रुपैयाँको ३२.६५ प्रतिशत बराबरको ३२ करोड रुपैयाँ, अर्थात् ३२ लाख कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको छ। यसमध्ये जारी पूँजीको १० प्रतिशत अर्थात् ९ करोड ८० लाख रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ दरका ९ लाख ८० हजार कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरूका लागि निष्काशन गर्न लागिएको हो। यो निष्काशन वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन र विद्युत उत्पादन अनुमतिपत्रमा उल्लेखित विवरणका आधारमा गरिएको कम्पनीले जनाएको छ।
आयोजना प्रभावित क्षेत्र अन्तर्गत बागलुङ जिल्लाको बडिगाड गाउँपालिकाका वडा नं. १ देखि १० सम्मका सम्पूर्ण वडाका स्थानीय बासिन्दा तथा आयोजनाको विद्युत प्रसारण लाइनबाट प्रभावित बागलुङ जिल्लाको ढोरपाटन नगरपालिका वडा नं. २ का बासिन्दाहरूले आवेदन दिन सक्नेछन्। स्थानीय बासिन्दाहरूका लागि आईपीओ निष्काशन छिटोमा माघ २० गते र ढिलोमा फागुन ८ गते बन्द हुनेछ।
यसैगरी, सर्वसाधारण लगानीकर्ताका लागि छुट्याइएको शेयरमध्ये १० प्रतिशत अर्थात् २ करोड २२ लाख रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित दरका २ लाख २२ हजार कित्ता साधारण शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्काशन गरिने भएको छ। यसका लागि नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा कार्यरत नेपालीहरूले आवेदन दिन सक्नेछन्।
आईपीओमा न्यूनतम १० कित्ता र अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सकिने व्यवस्था गरिएको छ। वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले माघ ९ गतेभित्र आवेदन दिनुपर्नेछ। तोकिएको अवधिसम्म पर्याप्त आवेदन नपरेमा निष्काशन अवधि माघ २० गतेसम्म लम्बिन सक्ने कम्पनीले जानकारी दिएको छ।


