सुदूरपश्चिमका १२ पुल मर्मत, सडक सुरक्षामा बलियो पहल

सुदूरपश्चिमका १२ पुल मर्मत, सडक सुरक्षामा बलियो पहल तरुण खबर २३ पुष २०८२, बुधबार ११:३४
सुदूरपश्चिमका १२ पुल मर्मत, सडक सुरक्षामा बलियो पहल

महाकाली पुल आयोजना कार्यालय, महेन्द्रनगरले पूर्वपश्चिम राजमार्गअन्तर्गत सुदूरपश्चिम खण्डमा पर्ने १२ वटा पुलको मर्मत तथा सुरक्षा सुदृढीकरण कार्य अघि बढाएको छ।

कैलालीको चिसापानीदेखि कञ्चनपुरको गड्डाचौकीसम्मको सडकखण्डमा रहेका चौधर नदी, वनगाउँ खोला, भाँसी खोला, काँगला खोला, च्यानल क्रसिङ, पथरिया नदी, स्याली नदी, वनहरा नदी, अम्खैया खोला, बालुवा खोला, गौरीगङ्गा खोला र लिक्मा खोलामा रहेका पुलको मर्मत कार्य भइरहेको छ।

आयोजना कार्यालयका इन्जिनियर रवि शाहका अनुसार विश्व बैंकको आर्थिक सहयोगमा ठेक्का प्रक्रियामार्फत रु १ करोड ९१ लाख ८२ हजार ४८२ लागतमा पुल मर्मत भइरहेको छ। “पुलको अवस्था (कन्डिसन रेटिङ) अनुसार प्राथमिकता निर्धारण गरेर मर्मत कार्य अघि बढाइरहेका छौँ,” उनले बताए।

मर्मत कार्यअन्तर्गत सस्पेन्सन जोइन्ट, डब्लु–बिम बेरियर, बेरियर रोड पासिङ, क्याच आइ, डेलिनेटर पोस्ट तथा रेलिङ मर्मतजस्ता प्राविधिक कामहरू सञ्चालन भइरहेको छ। गत मङ्सिर २१ गतेदेखि सुरु भएको यो कार्य चालु आर्थिक वर्षभित्रै सम्पन्न गर्ने लक्ष्य राखिएको छ।

आयोजना कार्यालयका अनुसार नियमित मर्मत र सुरक्षा सुदृढीकरणले राजमार्गमा सवारी आवागमन सुरक्षित हुने मात्र नभई पूर्वाधारको दीर्घकालीन टिकाउपन पनि वृद्धि हुनेछ।