नेपाल सौर्य संघको नेतृत्वमा भरतकुमार मल्ल

नेपाल सौर्य संघको नेतृत्वमा भरतकुमार मल्ल तरुण खबर २४ पुष २०८२, बिहीबार ११:०७
नेपाल सौर्य संघको नेतृत्वमा भरतकुमार मल्ल

नेपाल सौर्य विद्युत् उत्पादक संघको अध्यक्षमा भरतकुमार मल्ल निर्वाचित भएका छन्। राजधानीमा सम्पन्न संघको २५औँ वार्षिक साधारणसभाबाट १६ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरिएको हो।

नवगठित कार्यसमितिअनुसार संघको वरिष्ठ उपाध्यक्षमा दीपक गौतम, प्रथम उपाध्यक्षमा रामेश्वर वाग्ले र द्वितीय उपाध्यक्षमा सुदर्शन बानियाँ निर्वाचित भएका छन्। यस्तै महासचिवमा नेत्रबहादुर खत्री, सचिवमा केशवराज शर्मा र कोषाध्यक्षमा रामप्रसाद कोइराला चयन भएका छन्।

कार्यसमितिका सदस्यहरूमा राजेन्द्रबहादुर खड्का, निस्था गौतम, विश्व शाह, कृष्णराज चुदाली, योगेन्द्रबहादुर श्रेष्ठ, दीपकराज पौडेल, तिलकलाल श्रेष्ठ, कुमार बस्नेत र सुबोध रिमाल निर्वाचित भएको निर्वाचन उपसमितिले जनाएको छ।

नवनिर्वाचित द्वितीय उपाध्यक्ष सुदर्शन बानियाँका अनुसार संघले राष्ट्रिय प्रसारण लाइन पुगे–नपुगेका, सुगम तथा दुर्गम क्षेत्रमा घरेलु सौर्य विद्युत् प्रणाली मार्फत विद्युतीकरण गरी सेवा विस्तार गर्दै आएको छ। साथै स्वास्थ्य, शिक्षा, सिँचाइ, सञ्चार र खानेपानी जस्ता आधारभूत क्षेत्रमा सौर्य ऊर्जाको प्रयोग बढाउन संघले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको उनले बताए।

सौर्य ऊर्जा उत्पादनमा क्रियाशील संस्थाहरूलाई संगठित गर्ने उद्देश्यले निजी क्षेत्रको पहलमा २०५७ साउन २० गते नेपाल सौर्य विद्युत् उत्पादक संघ स्थापना भएको हो। संघमा हाल १३८ उद्योग तथा कम्पनी आबद्ध छन्। स्थापना भएको २५ वर्ष पूरा भएको अवसरमा संघले यस वर्ष रजत जयन्ती विभिन्न कार्यक्रमसहित मनाउँदै छ।