तरुण खबर
२४ पुष २०८२, बिहीबार ११:२२
नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको कावासोतीस्थित केरुङ्गे खोलामा पुल निर्माण आठ वर्षपछि पूरा भएको छ। पुलको निर्माण विसं २०७५ मा सुरु भएको थियो र हाल पूर्णता पाएको कावासोती–४ का वडाअध्यक्ष नारायणप्रसाद लोहनीले जानकारी दिए।
एडभेन्चर कन्स्ट्रक्सन कम्पनीले २०७७ सालमा पुल निर्माण सक्ने लक्ष्यसहित काम अघि बढाएको भए पनि, पटक–पटक म्याद थप हुँदा निर्माण ढिलाइ भएको थियो।
कावासोती नगरपालिका–३ र ४ जोड्ने यो पुलले स्थानीय जनताको आवतजावतमा सहजता थपेको छ। पुलको लम्बाइ १ सय ४० मिटर रहेको छ र निर्माणमा करिब १० करोड ५० लाख रुपैयाँ खर्च भएको जानकारी वडाअध्यक्ष लोहनीले दिएका छन्।
स्थानीयवासीका लागि यस पुलले यात्रा समय कम गर्ने, सुरक्षा सुनिश्चित गर्ने र आर्थिक गतिविधिमा सहजता ल्याउने अपेक्षा गरिएको छ।


