तरुण खबर
२५ पुष २०८२, शुक्रबार ११:१८
काभ्रेपलान्चोकको महाभारत गाउँपालिका–४ कोलटार लामाडाँडामा कफी खेती किसानको जीवनस्तर परिवर्तन गर्ने मुख्य आधार बन्दै गएको छ। वैदेशिक रोजगारीबाट फर्किएपछि सिकान शङ्खलाल थोकर कफी खेतीमा लागेका छन् । अहिले कफीको दाना टिप्ने मौसम चलिरहेकाले उनी कफी टिप्ने, पल्पिङ गर्ने र सुकाउने काममा व्यस्त छन्। डाँडैभरि फैलिएको उनको कफी बगैँचामा बोटभरि लटरम्म फलेका दाना देख्न सकिन्छ।
परम्परागत मकै र कोदो खेतीभन्दा कफी खेतीबाट धेरै आम्दानी हुने भएपछि आफू यसतर्फ आकर्षित भएको थोकर बताउँछन्। उनका अनुसार यस वर्ष मात्रै कफी खेतीबाट करिब २५ लाख रुपैयाँसम्म आम्दानी हुने अनुमान छ।
‘गत वर्षभन्दा यो वर्ष राम्रो मूल्य पाइयो,’ उनले भने, ‘कफीबाट घरखर्च, खानपान र छोराछोरीको पढाइ सबै सहज हुँदै आएको छ।’
थोकरको सफलतापछि सोही क्षेत्रका ज्ञानबहादुर बोम्जन पनि पछिल्लो छ वर्षदेखि व्यावसायिक कफी खेती गर्दै आएका छन्। बोम्जनले ६ रोपनी जग्गामा करिब दुई हजार कफीका बोट रोपेका छन्। ‘कोदो र मकै खेती गर्दा वर्षभरि खट्नुपर्थ्यो,’ बोम्जनले भने, ‘कफीमा तीन महिना मेहनत गर्दा लाखौँ आम्दानी हुन्छ।’ उनले गत वर्ष कफीबाट ५ लाख रुपैयाँ कमाएका थिए भने यस वर्ष करिब १० लाख रुपैयाँ बराबरको कफी उत्पादन भएको बताउँछन्।
महाभारत गाउँपालिकाकै महादेवराटकी पातली माया घिसिङले पनि धान खेती छोडेर कफीलाई मुख्य पेसा बनाएकी छन्। करिब १० वर्षदेखि कफी खेती गर्दै आएकी घिसिङको वार्षिक उत्पादन करिब १ हजार ५०० किलो पुगेको छ।
‘पहिला मकै र कोदोले खानालाई मात्रै पुग्थ्यो,’ घिसिङले भनिन्, ‘कफी खेती थालेपछि खर्च कटाएर पनि राम्रो आम्दानी हुन्छ।’
निर्यात बढ्दै, तर आयात अझै भारी
नेपाली कफीले अन्तर्राष्ट्रिय बजारमा ‘हिमालयन अर्थोडक्स कफी’को रूपमा पहिचान बनाउँदै गएको छ। भन्सार विभागका अनुसार चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो पाँच महिनामा नेपालबाट ४ करोड २२ लाख १२ हजार रुपैयाँ बराबरको २१ हजार ७७७ किलो कफी निर्यात भएको छ। प्रतिकिलो औसत निर्यात मूल्य २ हजार रुपैयाँभन्दा माथि रहेकाले नेपाली कफीको विश्व बजारमा राम्रो माग देखिएको छ। जापान, अमेरिका र युरोपेली मुलुकहरू नेपाली कफीका प्रमुख बजार हुन्।
तर निर्यातको तुलनामा आयात भने अत्यधिक छ। सोही अवधिमा नेपालले ९० करोड ८६ लाख ४१ हजार रुपैयाँ बराबरको ४ लाख १२ हजार १७१ किलो कफी आयात गरेको छ। यसले नेपालले १ रुपैयाँको कफी निर्यात गर्दा करिब साढे २२ रुपैयाँको कफी आयात गरिरहेको देखाउँछ।
विशेष गरी रोस्टेड कफी, क्याफिन निकालिएको कफी, कफीका एसेन्स र कन्सन्ट्रेट नेपालमा धेरै आयात हुने गरेको छ। कफी आयातबाट मात्रै सरकारले ४० करोड ५६ लाख ७३ हजार रुपैयाँ राजस्व संकलन गरेको छ। तथ्यांकअनुसार भारतबाट सबैभन्दा बढी कफी आयात हुने गरेको छ भने कतार, साउदी अरब र अमेरिका लगायतका देशबाट पनि कफी भित्रिने गरेको छ।
महाभारतका किसानको अनुभवले कफी खेती ग्रामीण क्षेत्रमा आम्दानी र रोजगारीको भरोसायोग्य विकल्प बन्दै गएको देखाएको छ। उत्पादन, प्रशोधन र मूल्य अभिवृद्धिमा ध्यान दिन सके आयात घटाउँदै नेपाली कफीलाई अझ बलियो ब्रान्डका रूपमा स्थापित गर्न सकिने अपेक्षा गरिएको छ।


