एनसेलको ‘युवा सिम’, डिजिटल भविष्यतर्फ सजिलो पहुँच

एनसेलको ‘युवा सिम’, डिजिटल भविष्यतर्फ सजिलो पहुँच तरुण खबर २७ पुष २०८२, आईतवार ११:१०
एनसेलको ‘युवा सिम’, डिजिटल भविष्यतर्फ सजिलो पहुँच

एनसेलले जेन–जी पुस्ताको सञ्चार आवश्यकता लक्षित गर्दै नयाँ आकर्षक स्टार्टर प्याक ‘युवा सिम’ सार्वजनिक गरेको छ। विद्यार्थी तथा युवा वर्गलाई सुलभ शुल्कमा आधुनिक दूरसञ्चार सेवामा सहज पहुँच दिलाउने उद्देश्यसहित ल्याइएको यो प्याक आज शनिबार (पुष २६)देखि औपचारिक रूपमा सञ्चालनमा आएको हो।

सन् १९९७ पछि जन्मिएका नेपाली नागरिकहरूले तोकिएको प्रक्रिया पूरा गरी ‘युवा सिम’ प्रयोग गर्न सक्ने एनसेलले जनाएको छ। करसहित मात्र २९९ रुपैयाँ मूल्य तोकिएको यस प्याकमा २८ दिनसम्म मान्य हुने आकर्षक सेवा सुविधाहरू समावेश छन्। प्याकअन्तर्गत अनलिमिटेड अन–नेट (एनसेल–टु–एनसेल) कल, ५ जीबी डेटा, डिजिटल वालेट इसेवा र खल्ती प्रयोग गर्दा डेटा शुल्क नलाग्ने सुविधा तथा अनलाइन शिक्षण प्लेटफर्म ‘मेरो स्कुल’ मा नि:शुल्क पहुँच प्रदान गरिएको छ।

यसका साथै अफ–नेट कलमा पनि विशेष छुट दिइएको छ, जसअनुसार एनसेलबाट अन्य स्थानीय नेटवर्कमा प्रति मिनेट मात्र १ रुपैयाँमा कल गर्न सकिनेछ। २८ दिनभित्र ५ जीबी डेटा सकिएपछि पनि ग्राहकहरूले पे–एज–यू–गो सेवाअन्तर्गत प्रति एमबी ५० पैसामा डेटा प्रयोग गर्न सक्ने व्यवस्था गरिएको छ।

एनसेलका चीफ कन्सुमर बिजनेस अफिसर उपाङ्ग दत्तले युवालाई लक्षित गरी विशेष रूपमा तयार गरिएको यो प्याक सार्वजनिक गर्न पाउँदा खुसी व्यक्त गरे। उनले भने, “युवा सिमले युवालाई सधैं कनेक्टेड राख्दै अवसर र डिजिटल भविष्यसँग जोड्न सहयोग पुर्‍याउँछ। यसले उनीहरूको डिजिटल जीवनशैली सहज बनाउने र शिक्षामा समेत सकारात्मक प्रभाव पार्ने विश्वास गरेका छौं।”

युवा सिमको अर्को विशेषता सामाजिक सञ्जाल प्रयोगकर्तालाई लक्षित सुविधा हो। यसअन्तर्गत २४ घण्टासम्म मान्य १ जीबी डेटा मात्र १९ रुपैयाँमा उपलब्ध गराइएको छ, जसबाट फेसबुक, टिकटक र इन्स्टाग्राम प्रयोग गर्न सकिन्छ। यसले युवालाई सामाजिक सञ्जालमा सधैं अपडेट रहन सहयोग गर्ने एनसेलको विश्वास छ।

युवा सिम लिन इच्छुक प्रयोगकर्ताले नजिकको एनसेल सेन्टरमा गई नागरिकता वा ड्राइभिङ लाइसेन्ससँगै विद्यार्थी परिचयपत्र पेश गर्नुपर्नेछ। नागरिकता वा ड्राइभिङ लाइसेन्स नभएमा अभिभावकको सरकारी परिचयपत्र र आफ्नो विद्यार्थी परिचयपत्र बुझाएर पनि सिम लिन सकिने व्यवस्था गरिएको छ।

एनसेलका अनुसार यो प्याक युवाले बढी प्रयोग गर्ने सेवा र डिजिटल प्लेटफर्मलाई लक्षित गरी तयार गरिएको हो। सेवा निरन्तर प्रयोग गर्न प्रत्येक २८ दिनअघि उही शुल्कमा प्याक पुनः खरिद गर्नुपर्नेछ। यो प्याक एनसेल एपमार्फत वा *१२३# डायल गरेर सजिलै खरिद गर्न सकिन्छ।