पोखरामा स्टार्टअप र नवप्रवर्तन प्रदर्शनी हुने

पोखरामा स्टार्टअप र नवप्रवर्तन प्रदर्शनी हुने तरुण खबर २७ पुष २०८२, आईतवार ११:४१
पोखरामा स्टार्टअप र नवप्रवर्तन प्रदर्शनी हुने

गण्डकी प्रदेशको राजधानी पोखरामा सूचना–प्रविधि तथा ‘स्टार्टअप’ व्यवसाय प्रदर्शनी आयोजना हुन लागेको छ। नवप्रवर्तनमार्फत रोजगारी सृजना र बेरोजगारी अन्त्य गर्ने उद्देश्यसहित युवापुस्ताका उद्यमीले उत्पादन गरेका प्रविधि, वस्तु तथा सेवाहरू प्रदर्शन गर्न मेला आयोजना गर्न लागिएको हो।

नेपाल सरकार, युवा तथा खेलकुद मन्त्रालय अन्तर्गतको राष्ट्रिय युवा परिषद्ले पोखरा उद्योग वाणिज्य सङ्घसँगको सहकार्यमा आगामी माघको अन्तिम साता प्रदर्शनी गर्ने योजना बनाएको छ। गण्डकी प्रदेशभित्रबाट छानिएका १५ नवीन सोचमा आधारित उद्यम, वस्तु, सेवा वा प्रक्रियामा नवप्रवर्तन सम्बन्धी व्यवसाय प्रदर्शनीमा प्रस्तुत हुनेछन्।

राष्ट्रिय युवा परिषद्का प्रशासकीय प्रमुख गेहनाथ गौतमका अनुसार, प्रदर्शनी प्रतिस्पर्धात्मक हुनेछ। पहिलो हुनेले ४० हजार, दोस्रोले ३० हजार र तेस्रो हुनेले २० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्।

प्रदर्शनीमा सहभागी हुन इच्छुकले अनलाइन फाराम भर्नुपर्नेछ। सहभागी उमेर ४० वर्ष ननाघेको हुनुपर्नेछ। उद्योग/व्यवसाय सञ्चालनको अवधि १० वर्षभन्दा बढी नभएको, सरकारी कार्यालयमा दर्ता भएको र वार्षिक कारोबार १५ करोड रुपैयाँभन्दा बढी नभएको हुनुपर्नेछ।

पोखराबाट सुरु हुने यो प्रदर्शनी देशका सातवटै प्रदेशमा आयोजना हुने र अन्ततः काठमाडौँमा हुने बृहत् प्रतिस्पर्धात्मक प्रदर्शनीमा प्रदेशबाट उत्कृष्ट प्रदर्शकहरू समावेश गरिने परिषद्ले जनाएको छ।

प्रदर्शनीको तयारीको सन्दर्भमा युवा परिषद्ले पोखरामा अभिमुखीकरण कार्यक्रम पनि सम्पन्न गरेको छ। कास्कीसहित स्याङ्जा, बागलुङ, तनहुँ र पर्वतका उद्योगी/व्यवसायी सहभागी भएको कार्यक्रममा उद्यमशीलता विकास विज्ञ इन्जिनियर रमेश सुवेदीले नवप्रवर्तनमार्फत रोजगार सिर्जना र युवा पलायन रोक्न मेला आयोजना गरिएको बताए।