राम्चेबेँसीका किसान उत्साहित, काउलीको मूल्य बढेपछि आम्दानीको आशा

राम्चेबेँसीका किसान उत्साहित, काउलीको मूल्य बढेपछि आम्दानीको आशा तरुण खबर २७ पुष २०८२, आईतवार ११:४४
राम्चेबेँसीका किसान उत्साहित, काउलीको मूल्य बढेपछि आम्दानीको आशा

काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका–११ राम्चेबेँसीका किसान बासुदेव सापकोटा अहिले बारीमा फलेको काउली बेच्न व्यस्त छन्। पोहोरभन्दा यस वर्ष काउलीले राम्रो बजारभाउ पाउँदा लगानी उठ्ने र थप आम्दानी हुने भएपछि उनी निकै उत्साहित देखिन्छन्। सापकोटा भन्छन्, “गत वर्ष लगानी उठ्नै धौधौ भयो, यस वर्ष भने बजारभाउ राम्रै छ।”

करिब चार रोपनी बारीमा काउली रोपेका सापकोटाले यस वर्ष पाँच हजार किलोसम्म बिक्री गर्ने लक्ष्य राखेका छन्। तर, यस वर्ष केही रोगका कारण उत्पादन घटेको किसानहरूको भनाइ छ। बजारमा प्रतिकिलो काउली रु ४५–५० मा बिक्री भएको हुँदा राम्चेबेँसीका किसान उत्साहित देखिएका छन्।

स्थानीय व्यापारीहरूको अनुसार मण्डनदेउपुर–११ मा यस याम करिब १३० किसानले काउली रोपेका छन्। यहाँ काउली, बन्दा, गोलभेँडा लगायतका तरकारी पर्याप्त उत्पादन हुने भए पनि कहिलेकाहीँ उचित बजारभाउ नपाउँदा किसान मर्कामा पर्ने गरेका छन्।

सापकोटाका अनुसार यस याममा दैनिक करिब १ हजार किलो काउली उत्पादन भइरहेको छ। यहाँ उत्पादित तरकारी विशेषगरी बनेपा र काठमाडौँमा बिक्री भइरहेको छ। एउटै किसानले एउटै याममा काउली, बन्दा र गोलभेँडा बिक्री गरेर रु पाँच लाखभन्दा बढी आम्दानी गर्ने लक्ष्य राखेको पाइन्छ।

स्थानीय किसान गायत्री सापकोटाले बताइन्, “काउली फलाउन धेरै मेहनत गर्नुपर्छ। बारी खनजोत, रोप्ने, गोडमेल, मलजल र किटनासक विषादी प्रयोग गर्नुपर्छ। तर मूल्य नपाउँदा निराशा लाग्छ। यस वर्ष भने बजारभाउ ठीक भएकाले उत्साही छौँ।”

कृषकहरूले बजारसम्म आफ्ना तरकारी पुर्‍याउन समय अभाव र सुरक्षाका कारण भरोसामात्र व्यापारीलाई दिएका छन्। व्यापारीले प्रतिकिलो रु ४०–४५ मा काउली खरिद गरिरहेका छन्। अर्का किसान कृष्णप्रसाद सापकोटा भने, “अन्य मुलुकबाट तरकारी आयात हुँदा नेपालका किसानले उचित मूल्य पाउँदैनन्, सरकारले यसका लागि पहल गर्नुपर्छ।”

गत वर्ष बजारभाउ नपाउँदा कतिपय किसानले बारीभरि उब्जित काउली खेतमै नै जोतिदिएका थिए। यस वर्ष व्यापारीसँग सहकार्यका कारण किसानहरूले आफ्नो मेहनतको उचित मूल्य पाउने आशा राखेका छन्। स्थानीय किसानहरूले हाटबजार स्थापना गरी बिक्री सहज बनाउन नगरपालिका कार्यालयसँग अनुरोध पनि गरेका छन्।