तरुण खबर
२७ पुष २०८२, आईतवार ११:४७
भोटेकोसी गाउँपालिकाको लिस्तिकोटस्थित यार्मासिङ गाउँमा रहेको ऐतिहासिक युद्धकिल्ला दुगुनागढीमा घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकको संख्या बढ्दो छ। विसं २०७२ को विनाशकारी भूकम्पले भत्काएको नेपाल–चीन सिमानासम्म फैलिएको दुगुनागढी नेपाली सेनाको अगुवाइमा मौलिक स्वरुपमा पुनर्निर्माण गरिएको छ।
करिब २०० रोपनी क्षेत्रमा फैलिएको यो किल्ला समुद्री सतहबाट करिब २२०० मिटर उचाइमा अवस्थित छ। यहाँ पर्यटकहरूले इतिहास अध्ययनसँगै मनोरम गाउँ परिवेशमा रमाइलो समय बिताउन पाउँछन्। आन्तरिक पर्यटक अमृतमान श्रेष्ठ भन्छन्, “गाउँले परिवेश र इतिहास बुझ्न पाइने भएकाले दुगुनागढी पर्यटकको रोजाइमा पर्न थालेको छ।”
स्थानीय वृद्ध कृष्णबहादुर प्रधानका अनुसार प्रधानमन्त्री पदमा नौ वर्षपछि १९१२ सालमा श्री ३ जङ्गबहादुर राणाको निर्देशनमा नेपाली सेनाले यो गढी निर्माण गरेको थियो। युद्धका बेला जङ्गबहादुर राणाले घुँडा टेकेर तिब्बतको सेनामाथि गोली प्रहार गरेको इतिहास उल्लेखनीय छ। भोटेकोसी गाउँपालिकाको लिस्तीमाईबाट नेपाली फौज लडाइँमा गएको र राष्ट्रकै पुरातात्विक सम्पदाभित्र पर्ने दुगुनागढीले नेपाल–तिब्बतबीच तीन पटक युद्धको साक्षी बनेको छ।
पर्यटक सरस्वती श्रेष्ठले भने, “यहाँ देखिने जङ्गबहादुरको पाइलाको निशानले त्यसबेलाको इतिहासलाई जीवित राखेको छ।” भोटेकोसी गाउँपालिका–३ का वडाध्यक्ष निमासोना शेर्पाले भने, “प्राचीन सभ्यता, संस्कार, संस्कृति र पहिचान झल्काउने यो ठाउँ ऐतिहासिक र पर्यटकीय दृष्टिले महत्वपूर्ण छ।”
चारैतिर हिमालले घेरिएको दुगुनागढी दृश्यात्मक रूपमा अत्यन्त मनमोहक छ। यहाँ एकपटक पुगेका अधिकांश पर्यटक साथीभाइ, परिवार र आफन्त लिएर पुनः आउने गरेको शेर्पाले बताए।
नेपाल एकीकरणको समयमा प्रयोग भएका एकीकरण मार्ग तथा कोटको पहिचान, संरक्षण र प्रवद्र्धन गर्न तथा सैनिक इतिहास जगेर्ना गर्ने उद्देश्यले नेपाली सेनाले विगत पाँच वर्षदेखि माउन्टेन ट्रेल रेस समेत आयोजना गर्दै आएको छ।


