इरानमा संवादको खोजीबीच उग्र आन्दोलन

इरानमा संवादको खोजीबीच उग्र आन्दोलन तरुण खबर २८ पुष २०८२, सोमबार ११:४३
इरानमा संवादको खोजीबीच उग्र आन्दोलन

इरानमा पछिल्ला दुई सातादेखि जारी सरकारविरोधी प्रदर्शन उग्र बन्दै जाँदा ठूलो मानवीय क्षति भएको छ। सन् २०२२ यताकै सबैभन्दा ठूलो नागरिक आन्दोलनका रूपमा हेरिएको यस घटनाक्रमले इरानको इस्लामिक सत्तालाई गम्भीर चुनौती दिएको छ।

अमेरिकास्थित मानव अधिकारवादी संस्था ‘एचआरएएनए’ का अनुसार हालसम्म ४९० प्रदर्शनकारी र ४८ सुरक्षाकर्मी गरी ५३८ जनाको मृत्यु भएको छ भने १० हजार ६ सयभन्दा बढी मानिस पक्राउ परेका छन्। यद्यपि, इरान सरकारले आधिकारिक तथ्यांक सार्वजनिक नगरेकाले यी विवरणको स्वतन्त्र पुष्टि हुन बाँकी छ।

डिसेम्बर २८ बाट बढ्दो महँगीको विरोधमा सुरु भएको आन्दोलन क्रमशः सन् १९७९ को इस्लामिक क्रान्तिपछि सत्तामा रहेका धार्मिक नेतृत्वविरुद्ध केन्द्रित हुन पुगेको छ। आन्दोलन चर्कँदै गएपछि इरानी प्रशासनले बल प्रयोग बढाएको छ र बिहीबारदेखि देशभर इन्टरनेट सेवा ठप्प पारिएको छ। यद्यपि, सामाजिक सञ्जालमार्फत बाहिरिएका भिडियोहरूमा राजधानी तेहरान र उत्तर–पूर्वी सहर मशहदमा प्रदर्शनकारीहरू नाराबाजी गर्दै सडकमा उत्रिएको देखिन्छ।

यसैबीच, अमेरिका–इरानबीचको वाकयुद्ध पनि तीव्र बनेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमा स्वतन्त्रताको लहर देखिएको भन्दै सहयोगका लागि अमेरिका तयार रहेको बताएका छन्। उनले सैन्य हस्तक्षेप, साइबर आक्रमण, थप नाकाबन्दी वा आन्दोलनकारीलाई अनलाइन सहयोग गर्ने विकल्पहरूबारे छलफल भइरहेको संकेत दिएका छन्।

यसको जवाफमा इरानी संसदका सभामुख मोहम्मद बाकर कालीबाफले यदि इरानमाथि आक्रमण भएमा इजरायलसहित मध्यपूर्वमा रहेका सबै अमेरिकी सैन्य अखडा र जहाजहरू वैध निशाना हुने चेतावनी दिएका छन्। उनले वासिङ्टनलाई गलत अनुमान नगर्न आग्रहसमेत गरेका छन्।

अन्तर्राष्ट्रिय स्तरमा पनि घटनाक्रमले चासो बढाएको छ। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहू र अमेरिकी विदेशमन्त्री मार्को रुबियोबीच सम्भावित सैन्य हस्तक्षेपबारे छलफल भएको बताइएको छ। बेलायतमा इरानी दूतावाससम्बन्धी घटनापछि तेहरानले बेलायती राजदूतलाई स्पष्टीकरणका लागि बोलाएको छ। अमेरिकाभित्रै केही सिनेटरहरूले सैन्य कारबाहीको विरोध गर्दै यसले इरानी जनतालाई झन् एकजुट बनाउने चेतावनी दिएका छन्।

विज्ञहरूका अनुसार, आन्दोलनले इरानी सत्तामाथि दबाब बढाए पनि तत्काल सत्ता परिवर्तनको सम्भावना भने कम छ। सुरक्षा संयन्त्र अझै संगठित देखिएको र स्पष्ट वैकल्पिक नेतृत्व नदेखिएको उनीहरूको विश्लेषण छ।

यसबीच, इरानका राष्ट्रपति मसुद पेजेस्कियानले परिवारहरूलाई आफ्ना छोराछोरीलाई प्रदर्शनमा सहभागी हुन नदिन आग्रह गर्दै सरकार आर्थिक समस्या समाधान गर्न र जनताका गुनासो सुन्न तयार रहेको बताएका छन्। घटनाक्रमले इरानभित्र मात्र होइन, सम्पूर्ण क्षेत्रीय सुरक्षामा पनि गहिरो असर पार्ने संकेत देखिएको छ।