निक्षेप बजारमा नयाँ मोड, लगानीको खोजी बढ्दै

निक्षेप बजारमा नयाँ मोड, लगानीको खोजी बढ्दै तरुण खबर २८ पुष २०८२, सोमबार ११:४५
निक्षेप बजारमा नयाँ मोड, लगानीको खोजी बढ्दै

नेपालका वाणिज्य बैंकहरूमा अधिक तरलता र निरन्तर घट्दो ब्याजदरको प्रत्यक्ष प्रभाव मुद्दती निक्षेप (फिक्स डिपोजिट) मा देखिन थालेको छ। बैंकहरूले व्यक्तिगत मुद्दती निक्षेपमा औसत ४.८३ प्रतिशत र संस्थागतमा ३.४४ प्रतिशत मात्र ब्याज दिन थालेपछि सर्वसाधारण तथा संस्थागत निक्षेपकर्ताहरूले मुद्दती खातामा रकम राख्ने प्रवृत्ति घटाएका छन्।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८२/८३ को पछिल्लो पाँच महिनाको तथ्यांकअनुसार मुद्दती निक्षेपको आकार ओरालो लागेको देखिन्छ। यस आर्थिक वर्षको सुरु साउनमा ३१ खर्ब १२ अर्ब ९३ करोड ८५ लाख रुपैयाँ रहेको मुद्दती निक्षेप मंसिर मसान्तसम्म घटेर ३० खर्ब १७ अर्ब २६ करोड ६५ लाख रुपैयाँमा झरेको छ।

पाँच महिनाको अवधिमा मात्रै मुद्दती निक्षेपबाट ९५ अर्ब ६८ करोड १४ लाख रुपैयाँ बाहिरिएको छ, जुन कुल मुद्दती निक्षेपको ३.१ प्रतिशत गिरावट हो। अघिल्लो आर्थिक वर्ष २०८१/८२ को सोही अवधिमा पनि मुद्दती निक्षेप ३ प्रतिशत अर्थात् ९६ अर्ब ६ करोड ३० लाख रुपैयाँले घटेको थियो। त्यस वर्ष साउनमा ३१ खर्ब ७७ अर्ब ७२ करोड ९९ लाख रुपैयाँ रहेको मुद्दती निक्षेप पाँच महिनामा घटेर ३० खर्ब ८१ अर्ब ६६ करोड ६९ लाख रुपैयाँमा सीमित भएको थियो।

लगातार दुई वर्षको तथ्यांकले ब्याजदर घट्दा मुद्दती निक्षेपमा रकम थुप्रिने क्रम रोकिएको स्पष्ट संकेत गरेको छ। राष्ट्र बैंकका अनुसार यस अवधिमा आवासीय (व्यक्तिगत) निक्षेपकर्ताहरूले सबैभन्दा धेरै रकम निकालेका छन्। पाँच महिनामा व्यक्तिगत मुद्दती निक्षेप मात्रै ९५ अर्ब ६४ करोड २८ लाख रुपैयाँले घटेको छ।

चालु आर्थिक वर्षको साउनमा ३० खर्ब ९२ अर्ब १४ करोड १३ लाख रुपैयाँ रहेको आवासीय मुद्दती निक्षेप पाँच महिनामा ३.१ प्रतिशतले घटेर २९ खर्ब ९६ अर्ब ४९ करोड ८५ लाख रुपैयाँमा झरेको छ। गैर–आवासीय मुद्दती निक्षेपमा भने सामान्य गिरावट मात्र देखिएको छ। साउनमा २० अर्ब ७९ करोड ६७ लाख रुपैयाँ रहेको गैर–आवासीय निक्षेप पाँच महिनामा ०.२ प्रतिशत अर्थात् ३ करोड ८६ लाख रुपैयाँले घटेर २० अर्ब ७५ करोड ८१ लाख रुपैयाँमा पुगेको छ।

लामो समयदेखि बैंकिङ प्रणालीमा लगानी योग्य रकम प्रशस्त भएपछि बैंकहरूले निक्षेपको ब्याजदर क्रमशः घटाउँदै आएका छन्। कुनै समय १२–१३ प्रतिशतसम्म पुगेको मुद्दती निक्षेपको ब्याजदर अहिले ५ प्रतिशतभन्दा तल झरेपछि निक्षेपकर्ताहरू वैकल्पिक लगानीका क्षेत्रतर्फ आकर्षित हुन थालेका छन्।

महँगीअनुसार प्रतिफल नआउने अवस्था बनेपछि कतिपय लगानीकर्ता सेयर बजार, घरजग्गा तथा अन्य व्यवसायिक क्षेत्रमा रकम स्थानान्तरण गरिरहेका छन्।