तनहुँमा पहिरोले बगाएको बस उत्खनन कार्य जारी

तनहुँमा पहिरोले बगाएको बस उत्खनन कार्य जारी तरुण खबर २८ पुष २०८२, सोमबार ११:५४
तनहुँमा पहिरोले बगाएको बस उत्खनन कार्य जारी

तनहुँको आबुँखैरेनी गाउँपालिका–५, दुन्द्राङबेँसी स्थित त्रिशूली नदी किनारमा फेला परेको बसको उत्खनन आज पनि जारी रहने भएको छ।

नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरोले बगाएर त्रिशूली नदीमा खसेको बसको अवशेष आइतबार फेला आएपछि नेपाल प्रहरी र सशस्त्र प्रहरीले उत्खनन कार्य सुरु गरेका थिए। जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार बिहान १०:४५ बजे बसको अगाडिको केही भाग पुरिएको अवस्थामा भेटिएको थियो।

प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकका अनुसार फेला परेको बस विसं २०८१ असार २८ गते चितवनको भरतपुर–२ सिमलतालबाट काठमाडौँ–गौरा जाने क्रममा बागमती प्रदेश ०३–००१ख२४९५ नम्बरको ‘गणपति डिलक्स’ लेखिएको बस हुन सक्ने अनुमान गरिएको छ।

घटनास्थलमा इलाका प्रहरी कार्यालय साराङघाटबाट प्रहरी नायब निरीक्षकको नेतृत्वमा २ र इलाका प्रहरी कार्यालय आबुँखैरेनीबाट प्रहरी निरीक्षकको नेतृत्वमा १२ जनाको टोली खटिएको छ।

हाल बस पूर्ण रूपमा यकिन हुन नसकेको भए पनि उत्खनन तथा थप अनुसन्धान कार्य जारी रहेको प्रहरीले जनाएको छ।