तरुण खबर
२८ पुष २०८२, सोमबार १२:०१
नेपालले निर्माण गरेको MUNAL स्याटेलाइट आज प्रक्षेपण हुँदैछ। नेपाल प्रज्ञा–प्रतिष्ठान विज्ञान तथा प्रविधि विभागले यस विद्यार्थी-निर्मित स्याटेलाइटको प्रक्षेपणका लागि सबै तयारी पूरा भइसकेको जानकारी दिएको छ।
उच्च माध्यामिक तहका नेपाली विद्यार्थीहरूको नेतृत्वमा विकसित यो स्याटेलाइट नेपालको अन्तरिक्ष विज्ञान यात्रामा महत्वपूर्ण उपलब्धि मानिएको छ। दुई वर्षको मेहनतपछि तयार भएको MUNAL स्याटेलाइट बालीबिरुवा निगरानी, घरेलु प्रविधिको परीक्षण र AI-सञ्चालित डाटा प्रक्रियामा प्रयोग हुने योजना रहेको छ।
प्रज्ञा–प्रतिष्ठानका सदस्य सचिव डा. रबिन्द्र प्रसाद ढकालका अनुसार, स्याटेलाइटको प्रक्षेपण नेपाल प्रज्ञा–प्रतिष्ठानको खुमलटार, ललितपुरस्थित ग्राउन्ड स्टेशनबाट बिहान १०:३२ बजे स्थानीय समयमा हुने छ।
विद्यार्थीहरूले नेतृत्व गरेको यो परियोजना नेपालका लागि अन्तरिक्ष विज्ञानमा नयाँ ढोका खोल्ने कदमको रूपमा हेरिएको छ। यसबाट नेपालमा विज्ञान, प्रविधि र शिक्षा क्षेत्रको क्षमता अझै मजबुत हुने अपेक्षा गरिएको छ।


