आज काठमाडौँका केही क्षेत्रमा विद्युत् व्यवस्थापन सुधार

आज काठमाडौँका केही क्षेत्रमा विद्युत् व्यवस्थापन सुधार तरुण खबर ३० पुष २०८२, बुधबार ११:२३
आज काठमाडौँका केही क्षेत्रमा विद्युत् व्यवस्थापन सुधार

नेपाल विद्युत् प्राधिकरणले आज काठमाडौँका विभिन्न स्थानमा अस्थायी रूपमा विद्युत् कटौती हुने जानकारी दिएको छ। महाराजगञ्ज वितरण केन्द्रअन्तर्गतका तीन वटा फिडरमा प्राविधिक सुधारका काम गर्नुपर्ने भएकाले निश्चित समयमा बिजुली आपूर्ति रोकिने प्राधिकरणले जनाएको हो।

प्राधिकरणका अनुसार गणेशस्थान फिडर, भङ्गाल फिडर र शिवपुरी फिडर मातहतका क्षेत्रमा आज विद्युत् कटौती हुनेछ। फिडरको भार (लोड) सन्तुलन मिलाउने, नयाँ पासिकोट फिडर निर्माण सम्पन्न गरी ब्रेकर तथा भूमिगत तार चार्ज गर्ने कार्यका लागि बिजुली कटौती गर्न लागिएको हो।

सूचनाअनुसार गणेशस्थान फिडरअन्तर्गत भोटे चोक, गणेशस्थान आसपासका क्षेत्रमा बिहान ११:३० बजेदेखि अपराह्न १:३० बजेसम्म विद्युत् कटौती हुनेछ। यस्तै, भङ्गाल फिडरअन्तर्गत तल्लो भङ्गाल, धोविखोला करिडोरलगायत क्षेत्रहरूमा बिहान ११:३० बजेदेखि अपराह्न १:०० बजेसम्म बिजुली नआउनेछ।

यसैगरी शिवपुरी फिडरअन्तर्गत बूढानीलकण्ठ नगरपालिकाको पासिकोट, च्यासिङडोललगायत स्थानमा दिउँसो १:०० बजेदेखि २:०० बजेसम्म विद्युत् कटौती हुने प्राधिकरणले जनाएको छ।

निर्धारित प्राविधिक कार्य तोकिएको समयभन्दा अगावै सम्पन्न भएमा उल्लेखित समयभन्दा पहिले नै विद्युत् आपूर्ति पुनः सञ्चालन हुने पनि प्राधिकरणले स्पष्ट पारेको छ।