कामना सेवा बैंकले एमफिल–स्नातकोत्तर विद्यार्थीका लागि अनुसन्धान अनुदान सुरु

कामना सेवा बैंकले एमफिल–स्नातकोत्तर विद्यार्थीका लागि अनुसन्धान अनुदान सुरु तरुण खबर ३० पुष २०८२, बुधबार ११:२७
कामना सेवा बैंकले एमफिल–स्नातकोत्तर विद्यार्थीका लागि अनुसन्धान अनुदान सुरु

कामना सेवा विकास बैंकले एमफिल र स्नातकोत्तर अध्ययनरत सोधकर्ता विद्यार्थीहरूलाई बैंकिङ, अर्थशास्त्र, व्यवस्थापन, कम्प्युटर साइन्स र सूचना प्रविधि क्षेत्रमा अनुसन्धान गर्न अनुदान उपलब्ध गराउने भएको छ।

अर्थशास्त्र र व्यवस्थापनमा एमफिल गर्दै गरेका दुई जना सोधकर्ता विद्यार्थीलाई बैंकले प्रत्येकलाई वार्षिक १ लाख रुपैयाँका दरले अनुदान दिनेछ। त्यस्तै, व्यवस्थापन, अर्थशास्त्र र कम्प्युटर साइन्स तथा सूचना प्रविधिमा स्नातकोत्तर अध्ययनरत चार जना विद्यार्थीलाई प्रत्येकलाई ५० हजार रुपैयाँका दरले अनुसन्धान अनुदान प्रदान गरिनेछ।

अनुदान प्राप्त गर्न इच्छुक विद्यार्थीले सम्वन्धित कलेजको सिफारिससहित प्रस्तावना आगामी १४ मार्च २०२६ भित्र बैंकमा पेश गर्नुपर्नेछ। बैंकले सम्वन्धित विषयका विज्ञसमेत रहेको छनौट समितिको माध्यमबाट अनुदान प्राप्त गर्ने विद्यार्थीहरूको छनोट गर्नेछ।

बैंकले स्पष्ट पारेको छ कि अनुदान प्राप्त गर्ने सोध कार्य राष्ट्रिय तथा अन्तर्राष्ट्रिय दृष्टिकोणले प्रमाणित, मौलिक र भरपर्दो तथ्याङ्कमा आधारित हुनुपर्दछ। यस अनुदानले विद्यार्थीहरूको अनुसन्धान क्षमता विकासमा सहयोग पुग्ने बैंकका प्रमुख कार्यकारी अधिकृत दिनेश थकालीले जनाएका छन्।

नेपाल राष्ट्र बैंकको नियम अनुसार विश्वविद्यालय र कलेजमा अध्ययनरत विद्यार्थीका लागि संस्थागत सामाजिक उत्तरदायित्वको शीर्षकबाट अनुसन्धान अनुदान प्रदान गर्न सकिने व्यवस्था भएसँगै कामना सेवा विकास बैंक यो सुविधा प्रदान गर्ने पहिलो वित्तीय संस्था बनेको छ।

अनुसन्धान अनुदानसम्बन्धी विस्तृत जानकारी बैंकको वेबसाइट www.kamanasewabank.com मार्फत प्राप्त गर्न सकिन्छ।

सूचना हेर्नुहोस्