अर्धवार्षिकमा राजस्व–खर्चको यथार्थ तस्वीर

अर्धवार्षिकमा राजस्व–खर्चको यथार्थ तस्वीर तरुण खबर १ माघ २०८२, बिहीबार १२:०७
अर्धवार्षिकमा राजस्व–खर्चको यथार्थ तस्वीर

चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो छ महिना बितिसक्दा पनि सरकारको आम्दानी र खर्च दुवै पक्ष अपेक्षित गतिमा अघि बढ्न सकेका छैनन्। महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको अर्धवार्षिक तथ्यांकअनुसार साउनदेखि पुस मसान्तसम्म सरकारको राजस्व संकलन ३८.३८ प्रतिशत र बजेट खर्च ३५.१४ प्रतिशतमा सीमित भएको छ।

महालेखाका अनुसार अर्धवार्षिक अवधिमा सरकारले राजस्व, वैदेशिक अनुदान तथा अन्य स्रोतबाट कुल ५ खर्ब ८८ अर्ब ५१ करोड ८२ लाख रुपैयाँ आम्दानी गरेको छ। यसमध्ये कर राजस्वबाट ५ खर्ब १६ अर्ब ११ करोड ५१ लाख रुपैयाँ संकलन भएको छ, जुन वार्षिक लक्ष्यको ३८.९३ प्रतिशत हो। त्यस्तै, गैरकर राजस्वतर्फ ६१ अर्ब २८ करोड ४८ लाख रुपैयाँ उठेको छ, जसले लक्ष्यको ३९.६९ प्रतिशत हिस्सा ओगटेको छ।

चालु आर्थिक वर्षमा सरकारले कुल १४ खर्ब ८० अर्ब रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएको छ। यसअन्तर्गत कर राजस्वबाट १३ खर्ब २५ अर्ब ५८ करोड ३९ लाख रुपैयाँ र गैरकर राजस्वबाट १ खर्ब ५४ अर्ब ४१ करोड ६१ लाख रुपैयाँ उठाउने लक्ष्य निर्धारण गरिएको छ।

खर्चतर्फ हेर्दा, अर्धवार्षिक अवधिमा चालु, पूँजीगत र वित्तीय व्यवस्थापनतर्फ गरी कुल ६ खर्ब ९० अर्ब २१ करोड ५४ लाख रुपैयाँ खर्च भएको छ, जुन वार्षिक बजेटको ३५.१४ प्रतिशत हो। चालु आर्थिक वर्षका लागि सरकारले कुल १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ।

पुस मसान्तसम्म पूँजीगत खर्चको अवस्था सबैभन्दा कमजोर देखिएको छ। यस अवधिमा सरकारले लक्ष्यको मात्र १२.१२ प्रतिशत अर्थात ४९ अर्ब ४२ करोड ५४ लाख रुपैयाँ पूँजीगत खर्च गर्न सकेको छ। चालु खर्चतर्फ भने ४१.२५ प्रतिशत अर्थात ४ खर्ब ८७ अर्ब १४ करोड ३१ लाख रुपैयाँ खर्च भएको छ। यस्तै, वित्तीय व्यवस्थापनतर्फ ४०.९५ प्रतिशत अर्थात १ खर्ब ५३ अर्ब ६४ करोड ६९ लाख रुपैयाँ खर्च भएको छ।

चालु आर्थिक वर्षको बजेटमार्फत सरकारले चालु खर्चका लागि ११ खर्ब ८० अर्ब ९८ करोड रुपैयाँ, पूँजीगत खर्चका लागि ४ खर्ब ७ अर्ब ८८ करोड ८० लाख रुपैयाँ र वित्तीय व्यवस्थापनका लागि ३ खर्ब ७५ अर्ब २४ करोड २० लाख रुपैयाँ विनियोजन गरेको थियो।

यस अवधिमा सरकारले वैदेशिक अनुदानतर्फ ७ अर्ब १० करोड ६९ लाख रुपैयाँ मात्र प्राप्त गरेको छ, जुन वार्षिक लक्ष्यको करिब १३.३ प्रतिशत हो। चालु आर्थिक वर्षमा सरकारले कुल ५३ अर्ब ४४ करोड ६९ लाख रुपैयाँ वैदेशिक अनुदान प्राप्त गर्ने लक्ष्य लिएको छ।