अमेरिकी भिसा नीतिमा नयाँ मोड

अमेरिकी भिसा नीतिमा नयाँ मोड तरुण खबर १ माघ २०८२, बिहीबार १२:१०
अमेरिकी भिसा नीतिमा नयाँ मोड

अमेरिकाले नेपालसहित ७५ देशका नागरिकहरूका लागि आप्रवासी भिसा प्रक्रिया अनिश्चित कालका लागि निलम्बन गरेको छ। अमेरिकी विदेश मन्त्रालयले आगामी २१ जनवरीदेखि लागू हुने गरी स्थायी बसोबास अनुमति (ग्रिनकार्ड) का लागि पर्खिरहेका ती देशका नागरिकलाई तत्काल आप्रवासी भिसा नदिने निर्णय गरेको हो।

राष्ट्रपति डोनाल्ड ट्रम्प नेतृत्वको प्रशासनले अध्यागमनमा कडाइ गर्ने नीतिलाई निरन्तरता दिँदै यो कदम चालेको बताइएको छ। विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा केही देशका आप्रवासीहरूले अमेरिकी सामाजिक कल्याण (वेलफेयर) प्रणालीमा अस्वीकार्य रूपमा उच्च निर्भरता देखाएको ठहर गर्दै भिसा प्रक्रिया स्थगित गरिएको उल्लेख छ। नयाँ आप्रवासीहरूले अमेरिकी स्रोत र सम्पत्तिको दोहन नगर्ने सुनिश्चित नभएसम्म रोक कायम रहने मन्त्रालयको भनाइ छ।

यस निर्णयबाट प्रभावित हुने देशहरूको सूचीमा नेपालका साथै अफगानिस्तान, बंगलादेश, भुटान, पाकिस्तान, श्रीलंका छिमेकी क्षेत्रका मुलुकदेखि अफ्रिका, युरोप, मध्यपूर्व, क्यारिबियन र एसिया–प्रशान्त क्षेत्रका विभिन्न देशहरू रहेका छन्। सूचीमा अफगानिस्तान, बंगलादेश, भुटान, इरान, इराक, सिरिया, सोमालिया, सुडान, नाइजेरिया, क्युबा, कोलम्बिया, रुस, थाइल्याण्ड, उरुग्वे, उज्वेकिस्तान, यमनलगायत देश समावेश छन्।

सन् २०२५ जनवरीमा पुनः कार्यभार सम्हालेपछि राष्ट्रपति ट्रम्पले कडा अध्यागमन विरोधी एजेन्डालाई प्राथमिकता दिँदै आएका छन्। उनले अमेरिकी इतिहासकै सबैभन्दा ठूलो देशनिकाला अभियान चलाउने घोषणा गरेका थिए। त्यसयता विभिन्न भिसा कार्यक्रम कटौती, शरणार्थी स्वीकृतिमा भारी कमी र अवैध रूपमा बसोबास गरिरहेका व्यक्तिहरूको पहिचान तथा देशनिकालाका लागि प्रमुख सहरहरूमा सशस्त्र अध्यागमन अधिकारी परिचालन गरिएको छ।

होमल्याण्ड सेक्युरिटी विभागका अनुसार पछिल्लो एक वर्षमा ट्रम्प प्रशासनले १ लाखभन्दा बढी भिसा रद्द गरिसकेको छ, जुन एक वर्षको अवधिमा हालसम्मकै उच्च संख्या हो। यस अवधिमा करिब ६ लाख ५ हजारभन्दा बढी मानिसलाई देशनिकाला गरिएको छ भने २५ लाखभन्दा बढी व्यक्तिले स्वेच्छाले अमेरिका छोडेको तथ्यांक उल्लेख गरिएको छ।