निर्यात विस्तारले चीनको नयाँ कीर्तिमान

निर्यात विस्तारले चीनको नयाँ कीर्तिमान तरुण खबर १ माघ २०८२, बिहीबार १२:१२
निर्यात विस्तारले चीनको नयाँ कीर्तिमान

सन् २०२५ मा चीनले विश्वकै सबैभन्दा ठूलो व्यापार नाफा दर्ता गर्दै नयाँ कीर्तिमान कायम गरेको छ। विश्वको सबैभन्दा ठूलो उत्पादक राष्ट्रका रूपमा रहेको चीनले अमेरिकी भन्सार शुल्कको दबाबबीच पनि वैकल्पिक अन्तर्राष्ट्रिय बजारमा निर्यात विस्तार गर्दै आफ्नो व्यापार नाफा १.२ ट्रिलियन डलर पुर्‍याएको हो।

उपलब्ध तथ्यांकअनुसार चीनको व्यापार नाफा सन् २०२४ को तुलनामा करिब २० प्रतिशतले वृद्धि भएको छ। अमेरिकी बजारमा निर्यात घटे पनि चिनियाँ कम्पनीहरूले दक्षिण–पूर्वी एसिया, अफ्रिका र ल्याटिन अमेरिका जस्ता उदीयमान बजारमा आफ्नो उपस्थिति तीव्र रूपमा विस्तार गरेपछि यो उपलब्धि सम्भव भएको बताइएको छ।

चीनको सबैभन्दा ठूलो एकल निर्यात गन्तव्य मानिने अमेरिकासँगको व्यापार वर्षको पहिलो ११ महिनामा १६.९ प्रतिशतले घटेको छ। विश्वका दुई ठूला अर्थतन्त्रबीच चलेको ‘टीट फर ट्याट’ व्यापारिक द्वन्द्वका कारण अमेरिकातर्फको निर्यात दबाबमा परे पनि चीनले अन्य बजारमार्फत कुल निर्यातलाई सन्तुलनमा राख्न सफल भएको छ।

चीनका भन्सार ब्युरोका उप–प्रशासक वाङ जुनले जटिल र चुनौतीपूर्ण बाह्य वातावरणका बाबजुद चीनको व्यापार प्रदर्शन सकारात्मक रहेको बताएका छन्। बुधबार आयोजित पत्रकार सम्मेलनमा उनले उच्चस्तरीय मेसिन टुल्स, औद्योगिक रोबोटजस्ता उच्च प्रविधियुक्त वस्तुको निर्यात १३ प्रतिशतले बढेको जानकारी दिए।

त्यसैगरी, इलेक्ट्रिक सवारी साधन, लिथियम ब्याट्री र सौर्य प्यानललगायत फोटोभोल्टिक उत्पादनहरूको निर्यात २७ प्रतिशतले वृद्धि भएको छ। अमेरिका र चीनबीच एक–अर्काका सामानमा भन्सार शुल्क बढ्दा पनि चीनले विश्वका अन्य बजारमा आफ्नो उत्पादन विस्तार गर्दै निर्यात घट्न नदिएको देखिएको छ।

विश्लेषकहरूका अनुसार यो रणनीति चिनियाँ कम्पनीहरूले राष्ट्रपति ट्रम्पको पहिलो कार्यकालमा सुरु भएको व्यापार युद्धको समयमा विकास गरेका थिए। गत वर्षको बलियो निर्यातले बेइजिङलाई अमेरिकासँग महिनौँसम्म चलेको व्यापार वार्तामा दृढतापूर्वक उभिन आत्मविश्वास दिएको चीनको दाबी छ।

गत अक्टोबरमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच भएको भेटपछि केही भन्सार शुल्क २० प्रतिशतमा झार्ने सहमति भएको थियो। तर हालै ट्रम्पले इरानसँग व्यापार गर्ने देशहरूलाई नयाँ २५ प्रतिशत भन्सार शुल्क लगाइने घोषणा गरेपछि चीन पनि यसको प्रभावमा पर्न सक्ने आकलन गरिएको छ, किनकि इरानको मुख्य आर्थिक साझेदारमध्ये चीन एक हो।

आगामी दिनमा थप व्यापारिक तनावको सम्भावनालाई मध्यनजर गर्दै चिनियाँ निर्यातकर्ताहरू तयारी अवस्थामा रहेको बताइन्छ। ट्रम्प प्रशासनले चीनमाथिको निर्भरता घटाउने र अमेरिकी उत्पादनलाई पुनर्जीवित गर्ने नीति अघि सारेको सन्दर्भमा व्यापार सम्बन्ध थप संवेदनशील बन्ने संकेत देखिएका छन्।

निर्यातलाई विकासको प्रमुख इन्जिनका रूपमा प्रयोग गरिरहेको चीन घरेलु चुनौतीसँग पनि जुधिरहेको छ। घरजग्गा क्षेत्रमा देखिएको संकटले आन्तरिक अर्थतन्त्र सुस्त बनाइरहेका बेला चिनियाँ अधिकारीहरू आन्तरिक खपत बढाउने र स्वदेशी तथा विदेशी दुवै मागले उत्पादन क्षेत्रलाई सन्तुलित रूपमा टेवा दिने मोडल विकास गर्न प्रयासरत छन्।