स्वास्थ्य तथ्याङ्क अब एउटै प्रणालीमा

स्वास्थ्य तथ्याङ्क अब एउटै प्रणालीमा तरुण खबर २ माघ २०८२, शुक्रबार ११:२८
स्वास्थ्य तथ्याङ्क अब एउटै प्रणालीमा

नेपालमा छरिएर रहेका स्वास्थ्यसम्बन्धी सूचना तथा तथ्याङ्कलाई एकीकृत र डिजिटल बनाउने पहल सुरु भएको छ। ‘एशिएन इ–हेल्थ इन्फरमेशन नेटवर्क’को सहयोगमा स्वास्थ्य सेवा विभागले स्वास्थ्य तथ्याङ्कको सुदृढीकरणका लागि औपचारिक प्रक्रिया अघि बढाएको हो।

यस पहलको मुख्य उद्देश्य स्वास्थ्य तथ्याङ्कलाई डिजिटल प्रणालीमा रूपान्तरण गरी आम नागरिकले स्वास्थ्यसम्बन्धी सूचना सहज, सरल र पारदर्शी रूपमा प्राप्त गर्न सक्ने अवस्था सिर्जना गर्नु हो। पहलका प्रमुख विशेषत्र डा झविन्द्र भण्डारीले यसले स्वास्थ्य सूचनाको पहुँच, उपयोग र सुशासनमा सुधार ल्याउने बताए। आज आयोजित ‘नेपालमा स्वास्थ्य तथ्याङ्कको सुशासनका लागि मार्गचित्र’ विषयक कार्यशालामा उनले नेपालसँगै भियतनाम र मङ्गोलियामा पनि यस्तै पहल सुरु भइसकेको जानकारी दिए।

कार्यक्रममा स्वास्थ्य सेवा विभागको व्यवस्थापन महाशाखाका प्रमुख केशव पण्डितले नेपालको संविधान तथा विभिन्न नीति र कानुनले नागरिकको स्वास्थ्य अधिकार सुनिश्चित गरे पनि त्यससम्बन्धी जानकारी आम नागरिकसम्म सहज रूपमा पुग्न नसकेको उल्लेख गरे। यस्तो अवस्थामा स्वास्थ्य तथ्याङ्कलाई एकीकृत र डिजिटल बनाउने यो पहल अत्यन्त आवश्यक रहेको भन्दै यसले ‘डिजिटल नेपाल फ्रेमवर्क’को कार्यान्वयनमा समेत महत्वपूर्ण सहयोग पुग्ने विश्वास व्यक्त गरे।

अधिवक्ता रुपनारायण श्रेष्ठले विद्यमान कानुनमा समेटिएका स्वास्थ्यसम्बन्धी प्रावधान र तिनलाई एकीकृत तथा डिजिटलाइज गर्ने क्रममा भएका प्रयासबारे सहभागीलाई जानकारी गराए।

यसअघि विश्व स्वास्थ्य सङ्गठनको सहयोगमा स्वास्थ्य सेवा विभागले चार वर्षअघि एकीकृत स्वास्थ्य सूचना प्रणालीसम्बन्धी दशवर्षे मार्गचित्र तयार गरी कार्यान्वयनमा ल्याइसकेको छ। उक्त मार्गचित्रले समग्र स्वास्थ्य सूचना प्रणालीलाई एकीकृत र डिजिटल बनाएर आम जनतालाई स्वास्थ्यसम्बन्धी सूचना सहज रूपमा उपलब्ध गराउनुपर्नेमा जोड दिएको छ।

कार्यशालामा सहभागीहरूले विश्वका अन्य मुलुकको अभ्यासलाई उदाहरणका रूपमा प्रस्तुत गर्दै नेपालमा पनि कानुनी र नीतिगत तहमा स्वास्थ्य सूचनाको खुला र सुरक्षित पहुँच सुनिश्चित गर्न क्षमता विकास आवश्यक रहेको सुझाव दिएका थिए।