स्कोडा इन्डियाको नयाँ इन्ट्री–लेभल एसयूभी कायलाक ले भारत एनक्याप क्र्यास टेस्टमा प्रतिष्ठित फाइभ–स्टार सुरक्षा रेटिङ प्राप्त गरेको छ। यो स्कोडाको भारतमा एनक्याप परीक्षणमा सहभागी हुने पहिलो मोडल हो, जसले ब्रान्डको सुरक्षा प्रतिबद्धतालाई अझ स्पष्ट पार्दै ग्राहकलाई उच्च सुरक्षा सुनिश्चित गरेको छ।
कायलाकले एडल्ट अक्युपेन्ट प्रोटेक्शनमा ३०.८८ अंक र चाइल्ड अक्युपेन्ट प्रोटेक्शनमा ४५.०० अंक प्राप्त गर्दै आफ्नो सेग्मेन्टको सबैभन्दा सुरक्षित एसयूभीको उपाधि सुनिश्चित गरेको छ। यसमा बेस भेरियन्टबाटै ६ एयरब्याग र २५ भन्दा बढी एक्टिभ तथा प्यासिभ सेफ्टी फिचरहरू उपलब्ध छन्।
बालबालिकाको सुरक्षामा कायलाकले उत्कृष्ट प्रदर्शन गरेको छ। फ्रन्टल अफसेट बारियर टेस्टमा १६/१६ अंक (१००%), साइड–मुभिङ डिफर्मेबल बारियर टेस्टमा ८/८ अंक (१००%) र रिकमेन्डेड चाइल्ड सीट असेसमेन्टमा पनि पूर्ण अंक प्राप्त गरेको छ। भेहिकल–बेस्ड मूल्यांकनमा १३ मध्ये ९ अंक (६९%) हासिल गर्दै यसले परिवारका लागि अत्यन्तै सुरक्षित र भरपर्दो विकल्प भएको प्रमाणित गरेको छ।
कायलाकको सुरक्षा प्रदर्शनले स्कोडाको अन्य मोडलहरू जस्तै कुशाक र स्लाभिया, जसले ग्लोबल एनक्यापमा फाइभ–स्टार प्राप्त गरेका थिए, को सेफ्टी लिगेसीलाई निरन्तरता दिएको छ। यसले ब्रान्डको “सुरक्षा सर्वोपरी” रणनीतिलाई फेरि पुष्टि गरेको छ।
सुरक्षा मात्र नभई, कायलाकमा आराम, आधुनिक शैली र प्रविधि संयोजन पनि उपलब्ध छ, जसले यसलाई भारतीय र नेपाली ग्राहकका लागि भरपर्दो इन्ट्री–लेभल एसयूभी बनाउँछ। यसले दैनिक प्रयोगका लागि आवश्यक व्यावहारिक सुविधाहरू प्रदान गर्दै परिवारका सबै सदस्यहरूको सुरक्षा सुनिश्चित गरेको छ।
नेपालमा स्कोडा कायलाकप्रति चासो बढ्दै गएको छ, र यसको आधिकारिक लन्चको प्रतीक्षा उत्साहित ग्राहकहरूले गरिरहेका छन्। फाइभ–स्टार सुरक्षा रेटिङ, उन्नत सेफ्टी फिचर र आधुनिक डिजाइनले कायलाकलाई इन्ट्री–लेभल एसयूभी सेग्मेन्टमा नयाँ सुरक्षा र गुणस्तरको मापदण्ड स्थापित गर्ने अपेक्षा गरिएको छ।




