तरुण खबर
२ माघ २०८२, शुक्रबार ११:५१
कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडको सोह्रौँ वार्षिक साधारण सभा बुधबार पोखरामा सम्पन्न भएको छ। सभाले अध्यक्ष चन्द्र बहादुर क्षेत्रीद्वारा प्रस्तुत आर्थिक वर्ष २०८१/०८२ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गरेको छ।
सभाले सञ्चालक समितिको प्रस्तावअनुसार सञ्चित मुनाफाबाट १० प्रतिशत बोनस शेयर र ०.५२६३ प्रतिशत नगद लाभांश (बोनस शेयरमा लाग्ने कर सहित) वितरण गर्ने निर्णय गरेको छ। बोनस शेयर जारी भएपछि वित्तीय संस्थाको चुक्ता पूँजी रु. ४४ करोड ८४ लाख ६१ हजार ५३५.२४ हुने बताइएको छ।
हाल संस्थाको कुल पूँजी संरचनामा संस्थापक समूहको शेयर स्वामित्व ६४.५२ प्रतिशत र सर्वसाधारण समूहको शेयर स्वामित्व ३५.४८ प्रतिशत रहेको छ। साधारण सभाले संस्थापक समूहको १० प्रतिशत शेयर सर्वसाधारण समूहमा हस्तान्तरण गर्ने प्रस्ताव पारित गर्दै नयाँ संरचना अनुसार संस्थापक समूहको स्वामित्व ५४.५२ प्रतिशत र सर्वसाधारण समूहको ४५.४८ प्रतिशत कायम हुने व्यवस्था गरेको छ।
त्यस्तै, वित्तीय संस्थाले एक वा एक भन्दा बढी उपयुक्त वित्तीय संस्थाहरू गाभ्ने/गाभिने वा प्राप्त गर्ने/प्राप्ति हुने प्रयोजनका लागि उपयुक्त संस्था पहिचान र समझदारी पत्रमा हस्ताक्षर गर्न सञ्चालक समितिलाई अधिकार दिने निर्णय गरेको पनि सभा मार्फत जनाइएको छ।


