‘एकै बटनमा एसयूभीबाट पिकअपमा बदलिने दीपल ई–०७ नेपालमा’

‘एकै बटनमा एसयूभीबाट पिकअपमा बदलिने दीपल ई–०७ नेपालमा’ तरुण खबर ४ माघ २०८२, आईतवार १०:३५
‘एकै बटनमा एसयूभीबाट पिकअपमा बदलिने दीपल ई–०७ नेपालमा’

नेपाली अटोमोबाइल बजारमा प्रविधि, विलासिता र प्रयोगात्मकताको नयाँ अध्याय थप्दै एमएडब्लु वृद्धि ग्रुपले ‘दीपल ई–०७ ट्रान्सफर्मर एक्स’ को औपचारिक बिक्री वितरण सुरु गरेको छ। गत बुधवार सार्वजनिक गरिएको यो गाडी चर्चित ई–०७ मोडलको परिष्कृत र अत्याधुनिक संस्करण हो, जसले नेपाली सडकमा पहिलो पटक बहु–आयामिक स्वरूप परिवर्तन गर्न सक्ने प्रविधि भित्र्याएको छ।

दीपल ई–०७ ट्रान्सफर्मर एक्सको सबैभन्दा आकर्षक विशेषता यसको ‘ट्रान्सफर्मर’ क्षमता हो। केवल एउटा बटन थिच्दा विलासी एसयूभी केही सेकेन्डमै शक्तिशाली पिकअप ट्रकमा रूपान्तरण हुन्छ। स्वरूप परिवर्तनपछि पछाडिको भाग खुला भई १६०० लिटरको विशाल कार्गो स्पेस र ५३१ केजीसम्मको भार वहन क्षमता उपलब्ध हुन्छ, जसले साहसिक यात्रा र व्यावसायिक प्रयोग दुवैका लागि यसलाई उपयोगी बनाउँछ।

प्रविधिको हिसाबले पनि यो गाडी निकै उन्नत छ। यसमा जडान गरिएको १९० किलोवाट क्षमताको रियर ह्वील ड्राइभ मोटरले ३६५ न्युटन मिटर टर्क उत्पन्न गर्छ, जसले सहरी ट्राफिकदेखि पहाडी उकालोसम्म सन्तुलित र शक्तिशाली प्रदर्शन सुनिश्चित गर्छ।

ऊर्जा स्रोततर्फ, यसमा नेपालकै सबैभन्दा आधुनिक ८९.९८ किलोवाट आवरको ‘गोल्डेन शिल्ड २.०’ ब्याट्री प्रयोग गरिएको छ। यो ब्याट्रीले एक पटकको पूर्ण चार्जमा ५६६ किलोमिटरको डब्लूएलटीपी प्रमाणित रेन्ज प्रदान गर्छ। द्रुत चार्ज सुविधाअन्तर्गत केवल १२ मिनेटमै ३० प्रतिशतबाट ८० प्रतिशतसम्म चार्ज गर्न सकिने भएकाले लामो दूरीको यात्रामा पनि सहजता मिल्छ।

गाडीको भित्री बनावटले ‘सुपर लग्जरी’ अनुभव दिन्छ। यसमा २८.८६ इन्चको हेड–अप डिस्प्ले र १५.४ इन्चको सनफ्लो टच स्क्रिन जडान गरिएको छ। नाप्पा लेदरबाट निर्मित चारवटै सिटमा मसाज, हिटिङ र भेन्टिलेसन सुविधा उपलब्ध छ भने अगाडिको सिटमा रहेको ‘जिरो ग्राभिटी मोड’ ले यात्रालाई थप आरामदायी बनाउँछ। पछाडिका यात्रुका लागि छुट्टै टच स्क्रिन दिइएको छ, जसबाट एसी, सनसेड र सिटको अवस्था आफैँ नियन्त्रण गर्न सकिन्छ।

सुरक्षाका दृष्टिकोणले पनि दीपल ई–०७ बलियो छ। यसमा एडास अन्तर्गत १४ भन्दा बढी सुरक्षा फिचरहरू, ३६० डिग्री क्यामेरा प्रणाली र एडजस्टेबल एयर सस्पेन्सन उपलब्ध छ। एयर सस्पेन्सनले ग्राउन्ड क्लियरेन्सलाई २०० मिलिमिटरबाट बढाएर २३१ मिलिमिटरसम्म पुर्‍याउन सक्छ, जसले कच्ची तथा अप्ठ्यारो सडकमा पनि आत्मविश्वासका साथ यात्रा गर्न सहयोग पुर्‍याउँछ। साथै, ६०० मिलिमिटरसम्मको पानीमा सहजै चल्न सक्ने क्षमता पनि यसमा रहेको छ।

दीपल ई–०७ ट्रान्सफर्मर एक्स नेपाली बजारमा १ करोड ९ लाख ९९ हजार रुपैयाँको सुरुवाती मूल्यमा उपलब्ध छ। यो गाडी सेतो, कालो र खैरो रङ विकल्पमा किन्न सकिने एमएडब्लु वृद्धि ग्रुपले जनाएको छ।

आधुनिक फिचर, शक्तिशाली ब्याट्री र बहुउपयोगी डिजाइनका साथ आएको दीपल ई–०७ ले नेपालमा प्रिमियम इलेक्ट्रिक सवारीको प्रतिस्पर्धालाई थप रोचक बनाउने अपेक्षा गरिएको छ। सहरी सुविधा र साहसिक यात्राको संयोजन खोज्ने आधुनिक ग्राहकका लागि यो गाडी एक बलियो विकल्पका रूपमा स्थापित हुने देखिन्छ।