नेपाल लाइफ म्युचुअल फन्डअन्तर्गत सञ्चालनमा आउन लागेको ‘नेपाल लाइफ समृद्धि लगानी योजना’ का इकाइहरू आज माघ ४ गतेदेखि सर्वसाधारण लगानीकर्ताका लागि सार्वजनिक बिक्रीमा ल्याइएको छ। नेपाल धितोपत्र बोर्डले यस योजनाअन्तर्गत कुल १६ करोड इकाइ निष्कासन गर्न अनुमति दिएको हो।
कुल निष्कासन हुने इकाइमध्ये बीज पुँजीका रूपमा २ करोड २४ लाख इकाइ कोष प्रवर्द्धक नेपाल लाइफ इन्स्योरेन्सका लागि सुरक्षित गरिएको छ भने १६ लाख इकाइ योजना व्यवस्थापक नेपाल लाइफ क्यापिटलका लागि छुट्याइएको छ। यी संस्थागत हिस्साहरू कटाएर बाँकी रहेको १३ करोड ६० लाख इकाइमा सर्वसाधारण लगानीकर्ताले आवेदन दिन सक्नेछन्।
लगानीकर्ताहरूले न्यूनतम १०० इकाइदेखि अधिकतम १ करोड ६० लाख इकाइसम्म खरिदका लागि आवेदन दिन पाउने व्यवस्था गरिएको छ। योजनाको बिक्री प्रक्रिया छिटोमा माघ ८ गते र ढिलोमा माघ १८ गते बैंकिङ समयपछि बन्द हुने जनाइएको छ। यदि छोटो अवधिमै मागअनुसार आवेदन परेमा माघ ८ गतेमै निष्कासन बन्द गरिने नेपाल लाइफ क्यापिटलले जनाएको छ।
यो योजना नेपाल लाइफ म्युचुअल फन्डअन्तर्गत सञ्चालनमा आउन लागेको हो, जसमा कोष प्रवर्द्धकको भूमिकामा नेपाल लाइफ इन्स्योरेन्स रहेको छ भने योजना व्यवस्थापकको जिम्मेवारी नेपाल लाइफ क्यापिटलले सम्हालेको छ।
नियमित बचतलाई व्यवस्थित लगानीमा रूपान्तरण गर्ने उद्देश्यसहित ल्याइएको यस योजनाले सर्वसाधारण लगानीकर्तालाई पूँजी बजारमा सहभागिता बढाउने तथा दीर्घकालीन प्रतिफल प्राप्त गर्ने अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ।




