चालु आर्थिक वर्षको पहिलो पाँच महिनामा अधिकांश वाणिज्य बैंकहरूले कर्मचारी सेवा सुविधा र तलबमा गर्ने खर्च उल्लेख्य रूपमा बढाएका छन्। यस अवधिमा वाणिज्य बैंकहरूको समग्र कर्मचारी खर्च ६.८२ प्रतिशतले वृद्धि भएको देखिएको छ, जसले बैंकिङ क्षेत्रमा मानव संसाधनलाई प्राथमिकतामा राख्ने प्रवृत्ति बलियो बन्दै गएको संकेत गर्दछ।
मंसिर मसान्तसम्म बैंकहरूले कर्मचारीको तलब तथा सेवा सुविधामा कुल २५ अर्ब ४ करोड १५ लाख ८० हजार रुपैयाँ खर्च गरेका छन्। यो रकम अघिल्लो वर्षको सोही अवधिको तुलनामा १ अर्ब ५९ करोड ८३ लाख ७० हजार रुपैयाँले बढी हो। गत वर्ष मंसिरसम्म बैंकहरूले कर्मचारी खर्चमा २३ अर्ब ४४ करोड ३२ लाख १० हजार रुपैयाँ खर्च गरेका थिए।
कुल २० वटा वाणिज्य बैंकहरूमध्ये १७ वटाले कर्मचारी खर्च बढाएका छन् भने ३ वटा बैंकमा भने यस्तो खर्च घटेको छ। तीन बैंक बाहेक अन्य बैंकहरूले अघिल्लो वर्षको तुलनामा अधिकतम ४१ प्रतिशतसम्म कर्मचारीको तलब तथा सुविधा वृद्धि गरेका छन्।
एनएमबि बैंक अग्रस्थानमा
कर्मचारी तलब वृद्धिदरको आधारमा एनएमबि बैंक अग्रस्थानमा देखिएको छ। बैंकले अघिल्लो वर्षको तुलनामा कर्मचारी खर्च ४१.६३ प्रतिशतले बढाएर १ अर्ब ३० करोड ८४ लाख ८० हजार रुपैयाँ पुर्याएको छ। अघिल्लो वर्ष सोही अवधिमा बैंकको यस्तो खर्च ९२ करोड ३९ लाख रुपैयाँ मात्र थियो।
दोस्रो स्थानमा सिटिजन्स बैंक इन्टरनेशनल रहेको छ, जसले कर्मचारी खर्च ३०.२३ प्रतिशतले बढाएर ८९ करोड ६७ लाख ९० हजार रुपैयाँ पुर्याएको छ। यस्तै, नेपाल एसबिआई बैंकले १५.२४ प्रतिशतले वृद्धि गर्दै ७० करोड २ लाख ४० हजार रुपैयाँ खर्च गरेको छ।
नेपाल बैंक, ग्लोबल आइएमई र एभरेष्ट बैंकको वृद्धि पनि उल्लेख्य देखिएको छ। नेपाल बैंकले १२.५९ प्रतिशत बढाएर १ अर्ब ७१ करोड ५८ लाख ६० हजार, ग्लोबल आइएमई बैंकले ११.३२ प्रतिशत बढाएर १ अर्ब ७१ करोड ७५ लाख ४० हजार र एभरेष्ट बैंकले १०.९६ प्रतिशतले वृद्धि गर्दै ८५ करोड ९९ लाख ५० हजार रुपैयाँ कर्मचारी खर्च गरेको छ।
रकमको आधारमा राष्ट्रिय वाणिज्य बैंक अगाडि
कर्मचारी खर्चको कुल रकमका आधारमा राष्ट्रिय वाणिज्य बैंक सबैभन्दा अगाडि देखिएको छ। बैंकले मंसिर मसान्तसम्म कर्मचारी सेवा सुविधामा १ अर्ब ९७ करोड ८९ लाख ४० हजार रुपैयाँ खर्च गरेको छ, जुन अघिल्लो वर्षको तुलनामा ७.४५ प्रतिशतले बढी हो।
नबिल बैंकले पनि ९.१६ प्रतिशत वृद्धि गर्दै १ अर्ब ७४ करोड ८८ लाख ८० हजार रुपैयाँ खर्च गरेको छ। यसैगरी, हिमालयन बैंकले ९.२२ प्रतिशतले बढाएर १ अर्ब ३० करोड ५८ लाख ८० हजार, लक्ष्मी सनराइज बैंकले ६.१९ प्रतिशतले बढाएर १ अर्ब ६७ करोड १९ लाख ३० हजार, सिद्धार्थ बैंकले ५.६५ प्रतिशतले बढाएर १ अर्ब १९ करोड ५९ लाख ६० हजार र माछापुच्छ्रे बैंकले ५.४२ प्रतिशतले बढाएर ९७ करोड ७४ लाख २० हजार रुपैयाँ कर्मचारी खर्च गरेका छन्।
सामान्य वृद्धि र घट्दो खर्च
तथ्याङ्क अनुसार केही बैंकहरूको कर्मचारी खर्च वृद्धिदर भने सीमित मात्र देखिएको छ। प्रभु बैंकको कर्मचारी खर्च ३.६२ प्रतिशतले बढेर १ अर्ब ४९ करोड ९३ लाख ६० हजार र कृषि विकास बैंकको ३.२१ प्रतिशतले बढेर १ अर्ब ५५ करोड ३६ लाख २० हजार रुपैयाँ पुगेको छ। त्यस्तै, प्राइम कमर्सियल बैंकको खर्च २.८१ प्रतिशत, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको १.४१ प्रतिशत र सानिमा बैंकको सबैभन्दा कम ०.५५ प्रतिशतले मात्र वृद्धि भई ६८ करोड ८ लाख रुपैयाँ कायम भएको छ।
यसैबीच, तीन वटा बैंकको कर्मचारी खर्चमा भने संकुचन आएको छ। एनआइसी एशिया बैंकको कर्मचारी खर्च सबैभन्दा धेरै १४.२१ प्रतिशतले घटेर १ अर्ब २३ करोड ३ लाख १० हजार रुपैयाँमा झरेको छ। स्ट्याण्डर्ड चार्टर्ड बैंकको खर्च ९.२३ प्रतिशतले घटेर ४१ करोड ५४ लाख २० हजार र कुमारी बैंकको कर्मचारी खर्च २.५४ प्रतिशतले घटेर १ अर्ब ५६ करोड ४३ लाख ४० हजार रुपैयाँ कायम भएको छ।





