तरुण खबर
७ माघ २०८२, बुधबार ११:२८
चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) को नाफामा कमी आएको छ । बैंकले सार्वजनिक गरेको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणअनुसार बैंकको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३६.१५ प्रतिशतले घटेको हो ।
चालु आर्थिक वर्षको पहिलो छ महिनामा निफ्राले ४० करोड ९९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकले ६४ करोड १९ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
पुस मसान्तसम्म बैंकको खुद ब्याज आम्दानी २९.०९ प्रतिशतले घटेर ७४ करोड ७ लाख २० हजार रुपैयाँमा सीमित भएको छ । यद्यपि, खुद फि तथा कमिशन आम्दानी भने ४.५१ प्रतिशतले वृद्धि भई १ करोड ५१ लाख ९१ हजार रुपैयाँ पुगेको छ ।
समीक्षा अवधिमा बैंकको कुल सञ्चालन आम्दानी २८.६२ प्रतिशत घटेर ७५ करोड ५९ लाख ११ हजार रुपैयाँमा झरेको छ भने सञ्चालन मुनाफा पनि ३६.०४ प्रतिशतले घटेर ५८ करोड ६५ लाख ९० हजार रुपैयाँमा सीमित भएको छ । वितरणयोग्य मुनाफा ३३.३७ प्रतिशत घट्दै ३४ करोड ७८ लाख रुपैयाँमा झरेको छ ।
नाफामा आएको गिरावटसँगै बैंकको प्रतिशेयर आम्दानी पनि २ रुपैयाँ १५ पैसाले घटेर ३ रुपैयाँ ८० पैसामा सीमित भएको छ । पुस मसान्तसम्म बैंकको प्रतिशेयर नेटवर्थ ११४ रुपैयाँ ७५ पैसा रहेको छ भने मूल्य–आम्दानी अनुपात ६८.४६ गुणा रहेको छ ।
२१ अर्ब ६० करोड रुपैयाँ चुक्ता पूँजी रहेको निफ्राको जगेडा कोषमा ३ अर्ब १८ करोड ५७ लाख रुपैयाँ सञ्चित छ । पुस मसान्तसम्म बैंकले ८ अर्ब ११ करोड ६२ लाख रुपैयाँ निक्षेप संकलन गरी २७ अर्ब ४१ करोड १६ लाख रुपैयाँ कर्जा परिचालन गरेको छ ।


