प्रत्यक्षतर्फ ३ हजार ४८४ उम्मेदवार, १६५ सिटमा प्रतिस्पर्धा

प्रत्यक्षतर्फ ३ हजार ४८४ उम्मेदवार, १६५ सिटमा प्रतिस्पर्धा तरुण खबर ७ माघ २०८२, बुधबार ११:५०
प्रत्यक्षतर्फ ३ हजार ४८४ उम्मेदवार, १६५ सिटमा प्रतिस्पर्धा

प्रत्यक्षतर्फ निर्वाचित हुने १६५ सदस्यका लागि ३ हजार ४८४ जनाले उम्मेदवारी दर्ता गरेका छन् । निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार कुल उम्मेदवारमध्ये ३९५ महिला र ३ हजार ८८ पुरुष रहेका छन् ।

उमेरको हिसाबले हेर्दा ३६–५० वर्ष उमेर समूहका उम्मेदवार सबैभन्दा बढी छन् । २५–३५ वर्ष उमेर समूहमा ५८३ उम्मेदवार रहेका छन्, जसमा ६७ महिला र ५१५ पुरुष छन् ।

३६–५० वर्ष उमेर समूहमा १ हजार ६१० उम्मेदवार छन्, जसमा २३५ महिला र १ हजार ३७५ पुरुष उम्मेदवार रहेका छन् ।

५१–६५ वर्ष उमेर समूहमा १ हजार ९० उम्मेदवार रहेका छन्, जसमा ९० महिला र १ हजार पुरुष उम्मेदवार छन् । ६५ वर्ष माथिका उम्मेदवार २०१ जना रहेका छन्, जसमा ३ महिला र १९८ पुरुष रहेका छन् ।

निर्वाचनमा ६८ वटा दलले आफ्ना उम्मेदवार उठाएका छन्, जसले आगामी निर्वाचनलाई बहुदलीय प्रतिस्पर्धात्मक र समावेशी बनाउने अपेक्षा गरिएको छ ।

यसरी विविध उमेर र लिङ्गका उम्मेदवारले निर्वाचनमा भाग लिएसँगै लोकतान्त्रिक प्रक्रियामा जनप्रतिनिधि चयनको अवसर अझ समृद्ध हुने विश्वास गरिएको छ ।