काँकरभिट्टाबाट इन्धन आयात मजबुत

काँकरभिट्टाबाट इन्धन आयात मजबुत तरुण खबर ८ माघ २०८२, बिहीबार १०:५५
काँकरभिट्टाबाट इन्धन आयात मजबुत

चालु आर्थिक वर्ष २०८२/८३ को पुस मसान्तसम्म पूर्वी नाका काँकरभिट्टाबाट रु नौ अर्ब ७७ करोडभन्दा बढी मूल्यको पेट्रोलियम पदार्थ आयात भएको छ। मेची भन्सार कार्यालयका अनुसार पेट्रोल, डिजेल, एलपी ग्यास, एटिएफ र मट्टितेल गरी कुल रु नौ अर्ब ७७ करोड दुई लाख ३२ हजार बराबरको इन्धन आयात भएको हो।

मेची भन्सार कार्यालयका सूचना अधिकारी तथा भन्सार अधिकृत ईश्वरकुमार हुमागाईंका अनुसार अघिल्लो आर्थिक वर्ष २०८१/८२ को सोही अवधिको तुलनामा पेट्रोलियम पदार्थको आयात रु ५१ करोड ५९ लाख ४३ हजार, अर्थात् ५.६० प्रतिशतले वृद्धि भएको छ। आयात बढेसँगै यसबाट प्राप्त राजस्व पनि ५.७० प्रतिशत ले बढेर रु २५ करोड ४२ लाख ४० हजार थपिएको उनले जानकारी दिए।

कार्यालयको तथ्यांकअनुसार चालु आवको पहिलो छ महिनामा पेट्रोलियम पदार्थ आयातबाट रु चार अर्ब ७४ करोड ९४ लाख ३६ हजार राजस्व संकलन भएको छ।

पेट्रोल र डिजेलको आयात अग्रस्थानमा

छ महिनाको अवधिमा रु चार अर्ब ७२ करोड छ लाख मूल्य बराबरको ५३ हजार १५२ किलोलिटर पेट्रोल आयात भएको छ। त्यस्तै, रु तीन अर्ब २२ करोड ६५ लाख मूल्य पर्ने ३३ हजार ७४४ किलोलिटर डिजेल आयात गरिएको छ।

यसैगरी, सोही अवधिमा रु एक अर्ब २४ करोड सात लाख मूल्य बराबरको १२ हजार ८११ मेट्रिक टन एलपी ग्यास, रु ३७ करोड ९४ लाख मूल्य पर्ने चार हजार ११२ किलोलिटर एटिएफ तथा रु नौ करोड पाँच लाख मूल्य बराबरको ९६४ किलोलिटर मट्टितेल आयात भएको मेची भन्सार कार्यालयले जनाएको छ।