नेपाल–भारतबीच व्यापार सहजीकरणमा नयाँ समझदारी

नेपाल–भारतबीच व्यापार सहजीकरणमा नयाँ समझदारी तरुण खबर ८ माघ २०८२, बिहीबार ११:०४
नेपाल–भारतबीच व्यापार सहजीकरणमा नयाँ समझदारी

नेपाल र भारतबीच निकासी हुने वस्तुको अग्रिम तथ्याङ्क आदान–प्रदान गर्दै जोखिम व्यवस्थापन मार्फत् व्यापार सहजीकरणलाई अझ प्रभावकारी बनाउन समझदारीपत्रमा हस्ताक्षर भएको छ।

समझदारीपत्र अन्तर्गत भन्सार नियन्त्रण र व्यापार सहजीकरणलाई थप प्रभावकारी बनाउने, भन्सार प्रक्रियामा समय कम गर्ने, सुरक्षित अन्तर्राष्ट्रिय व्यापार सुनिश्चित गर्ने र विद्युतीय माध्यमबाट निकासी तथ्याङ्क आदान–प्रदान गर्ने व्यवस्था गरिएको छ। यसले जोखिम विश्लेषणमार्फत् जोखिमयुक्त वस्तुमा निगरानी र नियमन गर्ने र सही कारोबार गर्ने व्यवसायीलाई छिटो र सहज भन्सार सेवा सुनिश्चित गर्ने उद्देश्य राखेको छ।

समझदारीपत्रको औपचारिक हस्ताक्षर कार्यक्रम माघ ७ गते, २०८२ (जनवरी २१, २०२६) मा भारतको नयाँदिल्लीमा सम्पन्न भयो। नेपालतर्फ भन्सार विभागका महानिर्देशक श्याम प्रसाद भण्डारी र भारततर्फ केन्द्रीय अप्रत्यक्ष कर तथा सीमा शुल्क बोर्डका अध्यक्ष विवेक चतुर्वेदीले हस्ताक्षर गरेका हुन्।

कार्यक्रममा नेपालतर्फ भन्सार विभागका महानिर्देशकसहित चार जना अधिकारी र भारततर्फ सिबीआइसीका अध्यक्षसहित अन्य सदस्यहरू उपस्थित थिए।

हस्ताक्षर कार्यक्रममा भन्सार विभागका महानिर्देशक भण्डारीले भारतीय पक्षलाई धन्यवाद ज्ञापन गर्दै शीघ्र कार्यान्वयनमा जोड दिएका र भने, “यसले दुवै देशको भन्सार प्रशासनबीचको सम्बन्धलाई थप मजबूत बनाउने तथा व्यापारलाई सहज र छरितो बनाउनेछ।”
त्यस्तै, भारतका अध्यक्ष चतुर्वेदीले पनि समझदारीपत्रको शीघ्र कार्यान्वयनमा प्रतिवद्धता व्यक्त गर्दै दुबै देशबीचको व्यापारिक सहकार्य अझ सुदृढ हुने विश्वास व्यक्त गरे।

समझदारीपत्रमा नमूनाका रूपमा कार्यान्वयनपछि सबै वस्तुमा लागू गर्ने, सम्पर्क अधिकारी तोक्ने, विवाद भएमा कुटनीतिक माध्यमबाट समाधान गर्ने तथा आवश्यक परे संशोधन गर्न सकिने प्रावधानहरू पनि समावेश गरिएको छ।